म्याग्दीको बेनी नगरपालिका-२,ज्यामरुककोटमा गरिएको माटो परीक्षणमा ६० प्रतिशत खेतीयोग्य जमिनमा अमिलोपन देखिएको छ । आइतबार वडा कार्यालयमा सञ्चालन गरिएको माटो परीक्षण शिविरमा ३७९ नमुना परीक्षण गरिएकोमा माटोमा अम्लीय बन्दै गएको भेटिएको हो ।

वडा कार्यालयको आयोजना मल तथा माटो परीक्षण केन्द्र पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित शिविरमा खेतीयोग्य जमिनमा अमिलोपन बढ्दै गएकाले अन्नबाली उत्पादन घट्ने बताइएको थियो ।

वडा अध्यक्ष यामबहादुर कार्कीले माटो परीक्षण प्रयोगशालाको रिर्पोटबाट उत्पादन हुने क्षेत्रमा समेत अमिलोपन देखिएकाले कृषि जोन घोषणा गरी माटोको उपचार आवश्यक रहेको बताए ।

‘उत्पादन बढाउन माटो सुधार्नका लागि आवश्यक सहयोग चाहिन्छ, कृषकको मेहनत अनुसारको उत्पादन हुन सकेको छैन’ वडा अध्यक्ष कार्कीले भने । उनले वडाभित्रका सबै बस्तीको खेतीयोग्य जमिनको माटो परीक्षण गरिएको बताए ।

उनले वडा कार्यालयबाट बेनी नगरपालिका, कृषि ज्ञान केन्द्रमा समेत परीक्षणको रिर्पोट लगेर माटोको उपचारमा केन्द्रित भएर कृषि बजेट विनियोजन गर्ने बताए । शिविरमा मल तथा माटो परीक्षण केन्द्र पोखराका प्राविधिक खुबराज बरालले परीक्षण गरिएको माटोमा अमिलोपन बढ्दै गएको देखिएको बताए ।

माटोमा अमिलोपन बढ्नाले उत्पादनमा ह्रास आउने उनले बताए ।माटो परिक्षणले आफ्नो जग्गाको अवस्था र बाली अनुसार प्रयोग गर्नु पर्ने विभिन्न पोषक तथा सुक्ष्म तत्वको बारेमा थाहा पाएपछि कृषकले समेत कृषि क्षेत्रमा बजेट बढाउन माग गरेका छन् ।

माटोमा रहेको उर्बराशक्तीलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षणको नतिजा अनुसार उपचारको आवश्यकता रहेको बताए । माटो परीक्षणकै रिपोर्टको आधारमा किसानलाई माटो सुधार्नका कृषि चुन उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply