बाग्लुङकाे बडिगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्याल डालो र नाङ्लाे बोकेर म्याग्दीको गलेश्वर आउनुभएको छ । बाग्लुङको काठेखोला–४ तङ्ग्रामकी अमृता पुन पनि नाङ्लाे बिक्री गर्न भनेर गलेश्वरमै आउनुभएको छ ।

यस्तै तनहुँको बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँकी तिलिमाया भुजेल पनि गलेश्वर शिवालय परिसरमा नाङ्लाे बिक्री गर्न ग्राहक पर्खिएर बसिरहनुभएको छ । बाग्लुङका छन्त्याल र पुन तथा तनहुँकी भुजेलको एउटै उद्देश्य भनेकाे म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लाे र डालाे बिक्री गर्ने ।

पहिले बालाचतुर्दशी पर्वमा गलेश्वर क्षेत्रमा लाग्ने मेलामा डाला, नाङ्ला र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर यसपालि पनि उहाँहरू तीनै जनाले सोचेजस्तो व्यापार भने भएको छैन । विगतका २/३ वर्ष काेभिड–१९ महामारी र यस पटक बढ्दो आर्थिक सङ्कटका कारण गलेश्वरमा व्यापार घट्दै गएको व्यापारीहरू बताउँछन् । अहिले निगालो र बाँसको चोयाबाट बनेका डालाे, नाङ्लाे, थुन्से, भकारी, मान्द्रो आरीलगायत घरायसी प्रयोजनका लागि चाहिने सामान बिक्री हुन छाडेको छ । अहिले यी सामानको प्रयोगमा पनि कमी आएको छ ।

बजारमा प्लास्टिक र स्टिलका सामान सस्ताे मूल्यमा पाइन थालेपछि गाउँघरमा बाँस र निगालोबाट बनाइएका सामानकाे बिक्री घट्दै गएकाे छ । बाग्लुङकाे जलजलाका व्यापारी छन्त्यालले आफूहरूको पुर्ख्याैली पेसा भएकाले डालो, नाङ्लोलगायत सामान बिक्री गर्न म्याग्दीको गलेश्वर आएको जानकारी दिनुभयो । उहाँ १ माना र १ पाथीदेखि ६ पाथीसम्म अन्नपात अटाउने डालाे तथा अन्नपात केलाउन प्रयोग गरिने नाङ्लो बिक्री गर्न आउनुभएकाे हाे ।

पाथीकाे ३ सयदेखि ६ सय रुपैयाँ, डालाेकाे ६ सयदेखि ११ सय रुपैयाँ र नाङ्लोकाे ६/७ सय रुपैयाँ बिक्री मूल्य रहेको व्यापारी छन्त्यालको भनाइ छ । हरेक वर्ष बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वर, माघेसङ्क्रान्तिमा गुल्मीको रिडी र चैतेदशैँमा बाग्लुङमा पुगेर उहाँले नाङ्लाे, डालाे र पाथी बिक्री गर्नुहुन्छ । उहाँ व्यापार गर्न देशका अन्य ठाउँमा पनि पुग्नुहुन्छ । डालाे, नाङ्लाे बेचेर परिवार पाल्ने र घरखर्च चलाउने गरेको उहाँले बताउनुभयो ।

हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीकाे दिन म्याग्दीको गलेश्वरमा मेला लाग्छ । बालाचतुर्दशीमा शिवालयमा शतबीज छरेमा आफ्ना पितृहरूको मोक्ष प्राप्ति हुने विश्वासले ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । यस वर्ष पनि आइतवारदेखि नै गलेश्वरमा मेला लागेको छ । मेला भर्न म्याग्दीसहित पर्वत, बाग्लुङ, पोखरा, काठमाण्डाै, चितवनलगायत जिल्लाबाट भक्तजन आएका छन् ।

बाग्लुङका छन्त्याल र पुन तथा तनहुँकी भुजेल मेलाकाे अवसरमा बाँस र निगालोबाट बनाइएका नाङ्लाे, डालाे र पाथी बिक्री गर्न आउनुभएकाे हाे । छन्त्यालले परम्परागत सीपबाट बनाइएका सामान बिक्री हुन छाेडेकाे भन्दै दुःखेकाे गर्नुभयाे । युवा जनशक्ति विदेश पलायन हुने र सीप हस्तान्तरण नहुँदा पुर्ख्याैली पेसा लोप हुने अवस्थामा पुगेकाे छ ।

बाँसको चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइने नाङ्लो ठूलो थालजस्तै आकारको हुन्छ । यसमा खाने अन्न निफन्ने (केलाउने) गरिन्छ । यस्तै बाँस र निगालो आदिको चोयाको सहायताबाट बुनिने फराकिलो मुख भएको गहिरो भाँडोलाई डालो भनिन्छ । यसमा पनि अन्नपात राख्ने गरिन्छ । गाउँघरमा नाङ्लो, डालोको प्रयोग गर्ने चलन धेरै भए पनि अहिले यी सामानकाे प्रयाेगमा कमी आउन थालेको छ ।

Leave a Reply