सरकारले दिवा खाजा कार्यक्रम गत वर्षसम्म कक्षा ६ सम्म अध्ययनरत बालबालीकाहरुका लागि मात्र राख्दै आएको थियो।विद्यालयमा खाजा कार्यक्रमले सार्वजनिक शिक्षामा गुणस्तरीय सुधार र विद्यालयमा कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिन थालेपछि सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरिदियो।

सरकारले ३२ लाख विद्यार्थीहरुका लागि ८ अर्ब ४५ करोड रकम छुटाएको छ। तर खाजाको रकम अपुग भएको भन्दै धेरै पालिकाहरुले कार्यक्रम संचालनै गर्न सकेका छैनन्। सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नको लागि विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्न खोजेको तर सोही अनुसारको बजेटको व्यवस्था गर्न नसक्दा प्रभावकारी नभएको विद्यालयहरूले जनाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्मको सबै बालबालिकालाई विद्यालयमा खाजाको व्यवस्था गर्ने भए पनि त्यस अनुसारको बजेटको व्यवस्थापन नहुँदा नियमित हुन नसकेको जनाए।

‘गत वर्ष पनि बजेटमा कक्षा ८ सम्म कार्यक्रम थप गर्ने उल्लेख भयो,’ उपसचिव अर्यालले नागरिक न्युजसँग भने ‘तर हालसम्म बजेटको व्यवस्थापन हुन सकेको छैन। कक्षा ५ सम्म मात्र निरन्तर गर्न सकिएको छ।’

उनका अनुसार सरकारले नीति तथा कार्यक्रममा खाजा कार्यक्रमलाई प्राथमिकतामा राख्ने गरेको तर त्यस अनुसारको बजेट व्यवस्थापन गर्न नसक्दा कार्यक्रम कक्षा ५ सम्म समिति भएको हो।

यता काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्र सरकारको रकममा महानगरको समेत बजेट थपेर कक्षा १० सम्मका बालबालिकालाई विद्यालयभित्र निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ।

यसले महानगरभित्रका ८९ सार्वजनिक विद्यालयका कुल ४५ हजार विद्यार्थीहरू रमाएर विद्यालय आउन थालेका छन्। बाबु नानीलाई खाजाकै लागि व्यवस्थापनको चिन्तामा दिनहुँ पिल्सिनु पर्ने अभिभावको आर्थिक बोझ समेत कम भएको छ।

Leave a Reply