म्याग्दीको बेनी नगरपालिका वडा नं ७ सदरमुकाम बेनीमा अवस्थित बेनी सामुदायिक माध्यमिक विद्यालय देशैभरी ७ औं उत्कृष्ट विद्यालय घोषित भएको छ । नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले ७ प्रदेशका २१ वटा विद्यालयहरू स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मुल्याङ्कन गर्दा गण्डकी प्रदेशमा दोस्रो र नेपालभरी ७ औं स्थानमा परेको हो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सूचकको प्रतिवेदनको उत्कृष्ट विद्यालय अनुसार अनुसन्धान तथा गुणस्तर सुधार शाखाले हरेक प्रदेशका ३ वटा विद्यालयको स्थलगत अनुगमनमा विद्यालयले गरेको असल अभ्यासहरूको संकलन, प्रकाशन, प्रोत्साहन र प्रर्वोधीकरण कार्यक्रमतर्फकार्यसम्पादन मुल्याङ्कनमा ८८ अंक प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए ।

सात प्रदेशका उत्कृष्ट २१ विद्यालय

‘देशभरी र गण्डकी प्रदेशमा नतिजा सुधार देखिएको छ,’यो नतिजाबाट धेरै उत्साहित छौ’प्रअ श्रेष्ठले भने। उनका अनुसार महाशाखाबाट सार्वजनिक भएको नतिजामा गण्डकी प्रदेशमा विन्दबासिनी मावि कास्कीले ९३.३ अङ्क प्राप्त गरेको छ ।

गतबर्ष महाशाखा अन्तरगतकै शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा ८७.८१ अङ्क प्राप्त गदैं देशैभरी बेनी सामुदायिक बाहैं र गण्डकी प्रदेशमा तेस्रो स्थानमा परेको थियो ।

सोही नतिजाको आधारमा अनुसन्धान तथा गुणस्तर सुधार शाखाले फरक सूचकको आधारमा स्थलगत अनुगमन गरी यो नतिजा सार्वजनिक भएको प्रअ श्रेष्ठको भनाई छ ।

गण्डकी प्रदेशभित्रका ३ विद्यालय स्थलगत अनुगमनमा पर्नु र सोही नतिजाबाट दोस्रो स्थानमा आउनुमा विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक, विद्यार्थीको साथै विद्यालयका सरोकारवाला निकायको समेत योगदान रहेको प्रअ श्रेष्ठले बताए ।

‘अबका बर्षहरूमा पनि यो नतिजालाई थप सुधार गछौं,‘यो म्याग्दी जिल्लाकै लागी सुखद् खवर हो’प्रअ श्रेष्ठले भने । २०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।

२०६३ साल देखी माध्यामिक तहको परीक्षामा सहभागी विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेको विद्यालयमा हालसम्म देशभरका १ सय ६० विद्यालयले सामुहिक तथा ६ सय ५५ विद्यालयका प्रअहरूले समेत भ्रमण गरेका छन् ।

Leave a Reply