बैंकर्स संघ म्याग्दीले पर्यटन प्रर्बधन सहित ग्रामीण क्षेत्रको विकासका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ। वाणिज्य बैंक तथा विकास बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ म्याग्दीले बैंकिङ पहुँच विस्तार र वित्तीय साक्षरता अभिवृद्धिसँगै जिल्लाको पर्यटन प्रर्वधनका अभियानमा समेत सघाउने प्रतिबद्धता जनाएको छ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा कार्यसमितिको बैठकमा हरेक ३ महिनामा एकपटक पर्यटकीयस्थलको भ्रमण गर्ने, म्याग्दी उद्योग वाणिज्य संघसँगको समन्वयमा विभिन्न कार्यक्रम गर्ने, समुदायस्तरमा वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्ने, जिल्लाको ग्रामिण पर्यटनको प्रर्वधनका लागि हरेक बैठक जिल्लाका पर्यटकीयस्थलमा गर्ने लगायतको निर्णय समेत गरेको बैंकर्स संघ म्याग्दीका अध्यक्ष नवराज ढुंगानाले बताए ।

‘वित्तिय गतिविधिसँगै सचेतनामुलक अभियानलाई समेत प्रभावकारी बनाउँछौ, समुदायसँग मिलेर गर्न सकिने कामहरूलाई प्राथमिकता दिन्छौ’ अध्यक्ष ढुंगानाले भने ।वित्तीय अनुशासन,पैसाको सदुपयोग र सुरक्षासँगै विद्यालयमा समेत विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्ने कार्यक्रमहरु ल्याउन अन्नपूर्ण यूवा क्लवका अध्यक्ष टक बहादुर गर्बुजाले अनुरोध गरेका थिए।

नारच्याङको लेक गाउँ पुगेका बैंकर्स संघको टोलीलाई स्थानीय आमा समुह तथा पुख्यौली नाच समुहले समेत स्वागत गरेका थिए । सोही अवसरमा होमस्टे सहित ग्रामिण पर्यटनमा स्थानीय आमा समुहको योगदान उच्च रहेको भन्दै टोलीले होमस्टे सुधार तथा ब्यवस्थापनका लागि ७ हजार सहयोग समेत गरेको थियो ।

 

Leave a Reply