म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा सुन्तलाका बगैंचाभित्र रहेका विद्युत् वितरण लाइनका नांगा तार हटाउन थालिएको छ। सुन्तलाको बगैंचाभित्र रहेको विद्युत्का नांगा तारका कारण दुर्घटनाको जोखिम बढेको थियो।

नांगा तारका कारण किसान बगैंचामा पस्न डराउने गरेका थिए। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुन्तला बगैंचाभित्र रहेका नांगा तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिए। उनका अनुसार नांगा तार हटाएर राखिने एबिसी केबुल तारसहित मजदुर र प्राविधिकको टोली बुधबार दोसल्ले पुगेको छ।

‘सुन्तलाको हाँगाले नांगा तार छोएकाले बगैंचाभित्र पस्न जोखिम थियो’, उनले भने। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुरु भएको हो। प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनका नांगा तार हटाएर एबिसी केबुल राख्न थालिएको बताए।

बयालिस परिवार बस्दै आएको दोसल्लेमा पूरै गाउँमा सुन्तला खेती गरिएको छ। नौ हजार सुन्तलाका बोट भएको बगैंचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नांगा तारले हाँगा छुन थालेको थियो।

‘सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैंचामा जाँदा करेन्टको झट्का आउँछ’, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष प्रेम पाइजाले भने, ‘तारमा छोइएर सुन्तलाका बोट मर्न थालेका छन्। रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैंचामा पस्न डर छ।’

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगा तार छोएर जोखिम बढेको हो। चार सय भोल्टको विद्युत् प्रवाह हुने नांगा तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन्। गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए।

स्थानीयले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नांगा तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गर्दै आएका थिए। अन्नपूर्णको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैंचामाथि रहेको विद्युत्का तार व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीयले बताएका छन्। –रासस

Leave a Reply