बेनी अस्पतालको बिहानको ओपिडी सेवा प्रभावकारी

0
20

दृष्टिविहिन सुस्मिता विक खुट्टा सुन्निएपछि परीक्षणका लागि विहानै बेनी अस्पतालमा पुगिन् । अकस्मात शरीरका विभिन्न भाग दुख्ने, खुट्टा सुन्निन थालेपछि विहान ८ बजे छोरासँगै अस्पतालमा पुगेकी सुस्मिताले ओपिडीमा चिकित्सकलाई देखाएर रगत,पिसाव,थाइराइड र भिडियो एक्सरे गरी फर्किइन्। ओपिडीमा डा. गोविन्द पोख्रेल,भिडियो एक्सरे डा.प्रशान्त गुरागाईले सुस्मितालाई चेकजाँच गरे।

अस्पतालमा विहानै उपचार हुन्छ भन्ने जानकारी नभएकै कारण खुट्टा नराम्ररी सुन्निएपनि दिउँसो गीत गाउँदै गुजरा चलाउनुपर्ने बाध्यताका कारण अस्पतालसम्म नपुगेकी सुस्मिताले विहानै अस्पतालमा सबै सुविधा पाएपछि नियमित काममा लागिन् ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकम घर भई हाल पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा बस्न सुमिस्ताले दिनभरी बेनीबजारमा गीत गाउँदै गुजरा चलाउँछिन् । दृष्टिविहिन सुस्मिताजस्तै विहानै उपचारका लागि आएका बिरामीले ओपिडी सेवा लिएर घर फकिन्छन् ।

अस्पतालमा ओपिडी टिकटको लागि विहानैदेखि लाइन बस्नुपर्ने झन्झटको अन्त्य मात्रै भएको छैन अस्पतालले सिमित जनशक्ती र पूर्वाधारको अभावका बिच सुरू गरेको ओपिडी सेवाले दिउँसो समय नहुने र विहानै सेवा लिएर घर फर्किने बिरामीलाई बरदान सावित भएको छ ।

गत असोज २१ गतेदेखि परीक्षण गरी कात्तिक २ गते औपचारिक रूपमा शनिबार र सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुने गरी सुरू भएको ओपिडी सेवा प्रभावकारी देखिएको छ ।

हरेक दिन बिहान ७ बजेदेखि राती ८ बजेसम्म ओपिडी सेवाले बिरामीलाई निकै सहज भएको छ ।‘अब म विहानै आएर सेवा लिन्छु,‘दिनभरी गीत गाउँन पनि सजिलो हुन्छ, विहान भिडभाड नहुने भएकाले सेवा लिन सजिलो भयो’सुस्मिताले भनिन् ।

गत असोज २१ गतेदेखि सुरु गरिएको परीक्षण तथा केही जनशक्तीको ब्यवस्थापनपछि सुरू भएको सेवाल ओपीडि टिकट र सेवाका लागि दिनभरी विताउनुपर्ने बाध्यता हटेको छ । १० बजेदेखि ४ बजेसम्म ओपिडी टिकट खुल्दा दिनभरी अस्पतालमा विताउनुपर्ने बिरामीहरू अहिले विहानै आएर सेवा लिन थालेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बताए ।

‘विहानैदेखि सेवा सुरू गरेपछि दिउँसो टिकट काउण्टरमा लाइनमा बस्नुपदैन,‘ओपिडी सेवा विस्तारले बजारका बिरामीलाई पनि सजिलो भएको छ’ अध्यक्ष सुबेदीले भने । उनले विद्यालयका विद्यार्थी, कर्मचारी, बजार क्षेत्रमा बसोबास गर्नेहरूलाई विहान र बेलुकीको समयमा सेवा लिन अनुरोध गरे ।

दिउँसो ग्रामिण क्षेत्रबाट आउने बिरामीलाई सहज रुपमै उपचार सेवा लिएर घर फर्किने सजिलो हुने अध्यक्ष सुबेदीको भनाई छ । विहानको ओपिडी सेवामा २० देखि ५० जनाले सेवा लिने गरेका छन् ।

बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले ओपिडी सेवा विस्तारले बिरामीले समय मिलाएर उपचार गर्न आउन सहज भएको बताए । ‘विहानै उपचार गर्न आउने बिरामीको चाप लाग्न थालेको छ, विहान आउने धेरैजसो बजार क्षेत्रकै हुनुहुन्छ’ डा. पोख्रेलले भने ।

बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।

विसं २०७४ मा १५ बाट ५० शैयामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ र्शैयाकै दरबन्दीबाट ७८ शैया बराबरको सेवा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आएपनि लामो समयसम्म नटिक्ने समस्या छ भने कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई जनशक्ती नहुदाँ अतिरिक्त कामको बोझ छ ।