म्याग्दीको तातोपानीमा सञ्चालित किराना पसल, होटल तथा रेष्टुरेण्टहरुको अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा म्याग्दीका सरोकारवाला निकायसहितको एक टोलीद्वारा तातोपानीका किराना पसल तथा होटलको आज शुक्रवार अनुगमन गरिएको हो ।

उक्त टोलीले बेनी नगरपालिका–४, सिङ्गास्थित उपल्लो तातोपानी बजारमा सञ्चालित किराना पसल, होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरेको जनाएको छ । बजार क्षेत्रमा सञ्चालित पसल, होटल र रेष्टुरेन्टमा सामानहरुको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डार र वितरणको वास्तविक अवस्था पत्ता लगाई कमी कमजोरीहरु भेटिएको खण्डमा त्यसलाई सुधार्न सहजीकरण गर्ने उद्देश्यसहित अनुगन गरिएको थियो ।

बजार अनुगमनको टोलीबाट उपल्लो तातोपानीमा सञ्चालित रुपेश किराना पसल, सञ्जय जनरल स्टोर्स, गजेन्द्र मिष्ठान्न भण्डार, तिर्सना खाजाघर, तातोपानी जनरल स्टोर्स, मलेपति स्टोर्स, हिमालयन गेष्ट हाउस, हिमशिखर होटल एण्ड रेष्टुरेण्ट, रुपा होटल एण्ड रेष्टुरेण्ट, किमचौर होटल एण्ड रेष्टुरेन्ट, होटल खिमा र कविता किराना पसलमा अनुगमन गरिएको छ । यसैगरी समित एण्ड अमित फ्रेस हाउस, जयसवाल जनरल स्टोर्स, बरंजा डेरी, सोनी किराना पसल, के एण्ड बि किराना पसल, खत्री किराना पसल र प्रविन किराना पसलमा अनुगमन भएको छ ।

तातोपानीको उपल्लो बजार क्षेत्रमा सञ्चालित १३ वटा किराना अर्थात् खाद्यान्न पसल र ८ वटा होटल तथा रेष्टुरेण्ट गरी कुल २१ वटा किराना पसल एवं होटलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्साकुमार मेहताले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा केही पसल तथा खाजाघर दर्ता नभएको, किराना पसलहरुमा म्याद गुज्रिएका दैनिक उपभोग्य सामानहरु बिक्री वितरण गरेको, फेन्सी र किराना पसल छुट्टाछुट्टै दर्ता नभएको, होटल तथा खाजा घरको बोर्ड राखेर किराना पसल सञ्चालन गरेको, पसलको टाँसीमा म्याद सकिएका सामानहरु बिक्रीका लागि राखेको जस्ता कमी कमजोरीहरु पाइएको उहाँले बताउनुभयो ।

किराना पसल, होटल तथा रेष्टुरेण्टमा म्याद सकिएका सुजी, बेसन, खानेतेल, बिस्कुट बियरलगायत पेयपदार्थ तथा दैनिक उपभोग्य सामानहरु भेटिएका थिए । अनुगमनको क्रममा १५ हजार नौसय ८० रुपैयाँ बराबरको खाद्यान्न र दुईहजार तीनसय ८० रुपैयाँको बियरलगायत पेयपदार्थसहित कुल १८ हजार तीनसय ७० रुपैयाँ मूल्य बराबरको अखाद्य सामानहरु भेटिएपछि नष्ट गरिएको खाद्य निरीक्षक मेहताले बताउनुभयो । अनुगमन टोलीले खाद्य स्वच्छता कायम गर्नका लागि पनि निर्देशन दिएको जनाएको छ ।

अनुगमनको क्रममा भेटिएका कमी कमजोरीहरुलाई तत्काल सुधार गरी दर्ता नभएका किराना, होटल तथा रेष्टुरेण्ट एक हप्ताभित्र कानुनअनुसार दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो । अनुगमनको क्रममा भेटिएका कमी कमजोरीलाई सुधार नगरी वेवास्ता गरेको पाइएमा कानुनअनुसार कारवाही गरिने बताइएको छ ।

खाद्य निरीक्षक मेहताको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीका नायब सुब्बा भुवन राना, पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर अपरेटर ढुङ्गाना, बेनी नगरपालिकाका अधिकृत छैटौं आराम थापा, प्रहरीचौकी सिङ्गा तातोपानीका प्रहरी सहायक निरीक्षक पिताम्बर उपाध्याय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply