---Advertisement---

म्याग्दीका द्धन्दपिडित परिवारको गुनासो : ‘न्याय पाउने आशमा २० बर्ष बित्यो’

On: December 15, 2023 10:18 PM
Follow Us:

सशस्त्र द्वन्द्वका बेला पिडित बनेका म्याग्दीका द्वन्द्वपिडितले अझैपनि राज्यका निकायबाट न्यायचित सुविधा नपाएको गुनासो गरेका छन ।

द्वन्द्वकालमा आफ्नै आँखाअगाडि भएको आफन्तजनको हत्या, कुटपिट, बन्धक हुँदाको क्षण अझै ताजा रहेको बताउँदै राज्य र विद्रोहीको पक्षबाट ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यले द्वन्द्वपीडितकै नाममा अर्बौ बजेट सकिएपनि बास्तविक पीडितका परिवारको अबस्था बेहाल रहेको गुनासो गरेका थिए ।

एडभोकेसी फोरम र द्वन्द्वपिडित अधिकार मञ्च म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा आयोजित द्वन्द्वपिडितको सवालमा स्थानीय तहको प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा आयोजित कार्यक्रममा बोल्ने अधिकांस पीडितले द्वन्द्वपीडितको नाममासुविधा र राहतसँगै न्यायको खोजीमा २० बर्षदेखि भौतारिएको बताएका थिए ।

आफ्नो श्रीमानलाई राज्यपक्षको यातनाबाट गुमाएकी बेनपा–६ की रेवती शर्माले अझै न्याय नपाएको बताईन् । उनले अहिलेसम्म न्यान र उचित राहत समेत नपाएको बताईन् ।द्वन्द्वपिडितहरुको नाममा स्थानीय, प्रदेश र संघीय सरकारको कार्यक्रमहरुमा द्वन्द्वपिडित सदस्यका लागी समेत प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने पीडित कर्ण गिरीले बताए । उनले पीडितका नाममा आएका कार्यक्रमहरुका बारेमा जानकारी पाउनुपर्ने बताए ।

उनले समस्याका बारेमा जानकारी पाएका स्थानीय सरकारले पनि केही राहत तथा सहयोगका कार्यक्रमहरु सञ्चालन नगरेकोमा दुख ब्यक्त गरेका थिए ।

द्वन्द्वपिडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भिमबहादुर रिजालले द्वन्द्वपिडितलाई परिचय पत्र, सार्वजनिक यातायातमा सुविधा, आयआर्जनका क्षेत्रमार्फत उत्पादनमा जोड्ने कार्यक्रम, बालबालिकालाई शिक्षा, स्वास्थ्य सहितका राज्यबाट प्राप्त हुने सुविधामा छुट दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पीडित योगेन्द्र बहादुर बानियाँ, कृष्णप्रसाद श्रेष्ठ,कर्ण गिरी, देवीकुमारी केसी, मानबहादुर परियार,चक्रपाणी आर्चाय, रहमत खाँ र खड्के दमाईलेद्वन्द्वका क्रममा घाइते, अपाङ्ग तथा अङ्गभङ्ग भएकालाई औषधि उपचार तथा जीवन निर्वाहको ब्यवस्था गर्नुपर्ने र निश्पक्ष रुपमा द्वन्द्व पिडितहरुले न्याय पाउनुपर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर सुरत केसीले शान्ति पार्क, द्वन्द्वपिडितलाई राहत तथा कार्यक्रममा समेत जोड्ने बताए ।त्यस्तै धवलागिरी गापाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका गापाका अध्यक्ष बेगप्रसाद गर्बुजा, रघुगंगा गापाका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्ण गापाकी उपाध्यक्ष दिवाकुमारी पुन, जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद पोख्रेल, मंगला गापाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेल, मिलन म्याग्दीकी अध्यक्ष दिलकुमारी विटालुले द्वन्द्वपिडितहरुको समास्या समाधान र न्यानका लागि सधै प्रतिबद्ध रहेको बताएका थिए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता द्वन्द्वपिडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भिमबहादुर सुबेदी, स्वागत तथा जानकारी अधिबक्ता राम शर्मा, सहजीकरण अधिबक्ता कुञ्जनी परियार र सवालजवाफको सहजीकरण पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले गरेका थिए ।