बेनी नगरपालिकाकद्धारा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सुष्मा नेपाली ले एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गदैं तीन स्वर्ण र एक रजत पदक दिलाइन् । बेनीस्थित प्रकाश माविबाट प्रतियोगितामा सहभागी भएकी कक्षा ७ मा अध्ययनरत १४ बर्षिया सुष्माले दौड तर्फ २०० मिटर र ४×१०० रिले, ४×४०० रिलेमा तीन स्वर्ण र १०० मिटर रजत पदक जित्न सफल भएकी हुन् ।

एथलेटिक्स विधामा अलराउन्ड सुष्मा विपन्न परिवारकी हुन्। बेनी नगरपालिका–३,भकिम्लीबाट रोजगारीका लागि बेनीबजारमा आएकी आमा मनकुमारीले घरेलु मजदुरका रुपमा काम गरी शिक्षादीक्षासँगै पढाइमा समेत सुष्मालाई कहिल्यै कमी हुन दिइनन् । भुईमान्छे भएर संघर्ष गरिरहेकी मनकुमारीलाई समेत सुष्माको सफलताले थप उत्साहित बनाएको छ ।

दैनिक गर्ने कठोर मजदुरीले समेत पेटभरी खान धौ–धौ भएपनि मनकुमारीले नगरपालिकाको फोहोर संकलनदेखि घरायसी काममा समेत समय दिएर छोरीलाई खेलमा समेत सफलताका लागि हौसला दिने गरेकी छन् ।

दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि प्रकाश माविले उचित ब्यवस्थापन गरेकाले खेलकुद विधामा सफलता प्राप्त गरेकी सुष्माले जिल्लास्तरीय र प्रदेशस्तरीय खेलमा समेत पदक जितेकी छन् ।

मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेकी सुष्मा भविस्यमा राष्ट्रिय टोलीबाट समेत एथलेटिक्समा खेल्ने लक्ष्य रहेको बताईन् ।

प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जित्दै जिल्लास्तरीय राष्ट्रपति कपका लागि समेत छनौट भएकी सुष्माले मजदुरीमा आमाले बगाएको पसिना र खुसीमा आँखामा बग्ने आँसुले झनै आत्मबल बढेको बताईन् ।

उनले कक्षा १२ सम्म विद्यालयबाट खेल्ने खेलसँग अनुभवी प्रशिक्षकबाट समेत तालिम सहितको सहयोग आवश्यक रहेको बताईन् । उनले आफु्ँले मेडल जित्दा आमा धेरै खुसी हुने गरेको बताईन् । एथलेटिक्सको समुहगत खेलका विधामा सुष्मा चम्किदाँ आश मारेको पदक समेत विद्यालयले जित्न सफल भएको छ ।

‘एथ्लेटिक्सकी सुन्दर भविष्य हुन्, विद्यालयका लागि उनले अहिलेसम्म ३० भन्दा बढी स्वर्ण जितेकी छन्’ प्रकाश माविका सहायक प्रअ विनय श्रेष्ठले भने । हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर पछिल्लो तीनबर्ष यता सुष्माले विद्यालय र आयोजकसँगै दर्शकलाई समेत चकित पारेकी छन् ।

प्रकाश माविका प्रधानाध्यापक लेखबहादुर हमालले एथलेटिक्स खेलबाटै सुष्माले जिल्लाका लागि समेत पदक दिलाउन सक्ने भएकाले उचित तालिम सहित प्रोत्साहनको आवश्यकता रहेको बताए । यसपटक सुष्मा सहित एथलेटिक्स विधामा चम्किएका खेलाडीकै कारण प्रकाश मावि नगरस्तरीय प्रतियोगितामा च्याम्पियन भएको छ ।

Leave a Reply