नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनतालाई आश्वासन दिने बाहेक ‘मिसन-८४’ को औचित्य नभएको बताए । नेकपा (एमाले),राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न अभियानमार्फत २०८४ सालमा हुने संसदीय निर्वाचनलाई लक्षित गरेर कार्यक्रम घोषणा गर्नु राजनीतिक बेइमानी भएको बताए । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनको आइतबार सदरमुकाम बेनीमा उद्घाटन गदैं महामन्त्री शर्माले एक बर्ष अगाडी निर्वाचनमा निर्वाचित सांसद भएका पार्टीले नै मिसन–८४ को घोषणा हतारको राजनीति भएको बताए ।
उनले सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताए । सम्मेलनलाई सम्बोधन गर्दे महामन्त्री शर्माले देश बनाउने चिन्ताभन्दा चुनाव कसरी जित्ने भन्नेमात्र सोँचको अन्त्य आवश्यक रहेको बताए ।
कांग्रेससँग देश बनाउन भिजन रहेकोसमेत शर्माले दाबी गरे। ‘ अब मिसन ८४ होइन, भिजन ९५ हुनुपर्छ, १५ वर्षभित्र देशलाई कस्तो बनाउने भनेर भिजन बनाउन कांग्रेस तयार छ’ महामन्त्री शर्माले भने । उनले जाजरकोट र रुकुममा भूकम्पबाट ज्यान गुमाएका र भत्किएका संरचनाको पुर्ननिर्माण मिसन ८४ ले पूरा नगर्ने बताए । ‘अब देशभरी भूकम्पप्रतिरोधात्मक घर कसरी बनाउने, जनताको आवश्यकता पूरा गर्ने भन्ने चिन्ता हुनुपर्छ,‘ठूला र पूरै हुन नसक्ने आश्वासनकै कारण अहिले ब्यवस्थाप्रति नै प्रहार भइरहेको छ’ महामन्त्री शर्माले भने ।
उनले चुनाव एउटा नियमित प्रक्रिया भएकाले कांग्रेसलाई हरेक निर्वाचन हुनुभन्दा एकबर्ष अगाडी मात्रै चुनाव लाग्ने बताए । महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र चारपटकसम्म मात्र सांसद बन्न पाउने व्यवस्थाका लागि अहिलेको आवश्यकता रहेको बताए ।कांग्रेसका केन्द्रदेखि गाउँ तहसम्मका नेता तथा कार्यकर्ताले बाटो बिराएको भन्ने चिन्ता बढिरहेको अवस्थामा कांग्रेसले नेतृत्व गरेको स्थानीय तहबाट जनताको आवश्यकता पूरा गर्न निरन्तर सक्रिय हुनुपर्ने बताए । उनले राष्ट्रियता र संसदीय व्यवस्थाको विपक्षमा कुनै पनि सम्झौता नगर्ने बताए। कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरु बराल ,किरण शर्मा पौडेल,पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ ,जिल्ला उपसभापति केबी भण्डारी ,पुर्व सहसभापति नेत्र महत ,कांग्रेस बागलुङका सभापति जित शेरचन ,गण्डकी प्रदेश सभा सदस्य विमला गौचन, प्रदेश कार्यसमिति सदस्य मनकुमारी विश्वकर्मा ,प्रदेशसभा निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्याल ,खका सभापति टंकप्रसाद पुन, बलभद्र ढकाल  तरुणदल उपाध्यक्ष श्रीप्रसाद राेका ,लगायत,वडा तथा पालिकाका कार्यसमिति पदाधिकारी र जनप्रतिनिधि एवं भातृ संगठनका पदाधिकारीहरुले बोल्नुभएको थियो । सम्मेलनमा ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले सम्मेलन हुन बाँकी पालिका ,वडामा सम्पन्न गर्ने ,टोल स्तरमा सरकारले गरेका राम्रा कामको बारेमा प्रचारप्रसार,जनताका गुनासो सुन्ने लगायत समस्या समाधानको पहल गर्ने कार्ययोजना बनाउने बताउनुभयो । उपसभापति हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सचिव भरत रकाल र सहसचिव श्रीराम पौड्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । काेषाध्यक्ष अमृतमान शेरचनले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

Leave a Reply