नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनु भन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो‘ । दृष्टिबिहिन सुस्मिता विकलाई पनि उखानै भनेजस्तै सहयोग मिलेको छ । जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गदैं घर खर्च जुटाउने गरेकी धवलागिरी गाउँपालिका-७,ताकमकी सुस्मिता लाउड स्पिकर भाडामा लिएर हिड्ने गरेकी थिइन्।
सदरमुकाम बेनीबजारमा गीत गाउँदै हिड्ने गरेकी सुस्मितालाई धेरैजसो लाउड स्पिकरको भाडा तिर्ने पैसा समेत जुटाउन हम्मेहम्मे पर्थो । विहानै भोकभोकै कोठबाट निस्किएर बेनीबजारका चोक–चोकमा गीत गाएर बटुवाको मन जित्न सफल भएकी सुस्मिताले गीत गाउने स्पिकरका लागि दैनिक १ हजार रुपैयाँसम्म भाडा तिर्ने गरेकी थिईन् ।
गीत गाएरै जीविकोपार्जनका लागि आर्थिक जोहो गर्न दृष्टिविहिन कलाकार सुस्मिताको आवश्यकताका बारेमा समाचार प्रकाशित भएपछि म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग ढक्कीघरे हाल यूकेका रहेका नक्कु पूजा, धर्मपत्नी तारा पूर्जा र छोराछोरी दर्पण पूजा र जेनित पूर्जाले २५ हजार बराबरको स्पिकर सहयोग गरेका छन् ।
यूकेमा रहेका नक्कु दम्पत्तीले आफ्ना दाजु लालकुमार पूर्जा र भाउजु स मायाँ पूर्जामार्फत सोमबार सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा एक कार्यक्रम गरी सुमिस्तालाई गुणस्तरीय स्पिकर हस्तान्तरण गरेका छन् ।
बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ, यूवा नेता झलक आचार्यको उपस्थिती रहेको थियो । सोही अवसरमा लालबहादुर र समायाँले खाद्यान्न र नगद समेत सहयोग गरेका थिए ।
विभिन्न ठाउँमा गएर आर्थिक संकलनका लागि स्पिकर आवश्यक रहेको जानकारी पाएपछि सहयोग गरेको यूकेमा रहेका नक्कु पूर्जाले बताए । ‘पीडितको आवश्यकतालाई हाम्रो परिवारले सहयोग गरेको हो,‘सीप अनुसारको सहयोगले जीवन निर्वाहमा समेत सहज हुन्छ’ समाजसेवी पूर्जाले भने ।
दुःखीलाई नै दुःखले लखेट्छ भन्ने उदाहरण बनेकी सुस्मिता बिरामी हुदाँ समेत भोकभोकै गीत गाउने गरेकी छन् । साँझ बिहानको छाक टार्न विद्यालयमा जाने छोरालाई लिएर गीत गाउँदै सहयोग जुटाइरहेको अवस्थामा भाडा तिर्नुपर्ने झन्झटबाट मुक्त भएकोमा सहयोगदातालाई धन्यवाद दिईन् ।
उनले नयाँ स्पिकरबाटै सहयोगदातालाई धन्यवाद दिईन र गीत गाएर समेत सुनाइन। ‘अब स्पिकरको भाडा तिर्नुपर्ने समस्या टरेको छ, त्यही पैसा पनि बचत भए मेरो घरखर्च चल्छ’ उनले भनिन् । सुस्मिताका एक छोरा र चार छोरी छन् । छोराछोरी पढाउनदेखि सबै घरखर्च गीतबाट जुटाउनुपर्ने बाध्यता छ । आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिड्ने बटुवा, ब्यापारीको समेत आँखा पनि रसिलो हुन्छ ।
दृष्टिविहिन भएकैले सुस्मिता र उनका श्रीमान समेत दृष्टिविहिन हुन्। पहिले संंगै गीत गाउने श्रीमान जलन विक अहिले पोखरामा बस्छन् । ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्ने गरेकी सुस्मिताको घाँटीमा समस्या हुदाँ पनि रोकिदैं गाउने गरेकी छन् । सुस्मिताको स्वर मिठो छ । हातमा माइक्रोफोन समातेर गीत गाउने गरेकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन् ।
Adv









