म्याग्दी, पुस ३ l बेनी नगरपालिका–३,भकिम्लीकी १४ बर्षिया सुष्मा नेपालीको कोठामा पुग्दा भित्ताभरी पदकै पदक थिए । बेनीबजारको गणेशटोलमा टिनको छाप्रोमा आमा मनकुमारीसँगै भेटिएकी सुष्माले तीनबर्षको अवधिमा विद्यालय, नगर, प्रदेशस्तरमा एथलेटिक्स खेलका विभिन्न विधामा ३ दर्जनभन्दा बढी पदक जितेकी छन् । बेनी नगरपालिकाकद्धारा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गदैं तीन स्वर्ण र एक रजत पदक जितिन् ।
नगर, जिल्ला र प्रदेशस्तरीय एथ्लेटिक्समा पदक जितेर खेलाडीको पहिचान बनाएकी सुष्मा एथलेटिक्स विधामा अलराउन्ड हुन् । एथलेटिक्समा चम्किएपनि गरिबीकै कारण सुष्माले भने भोकभोकै विद्यालयदेखि खेलकुदमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । भकिम्लीमा श्रीमानले चरम यातना दिदैं बस्न नदिएर कामको खोजीमा बेनी झरेकी मनकुमारीले १४ बर्षदेखि श्रीमान सहयोग पाएकी छैनन् । छोरी सुष्माको जन्मदर्ता बनाउन समेत मनकुमारीले अनेकौं सास्ती र नानाथरी आरोपको सामना गर्नुपर्यो ।
श्रीमानको कुटपिट र छोरीको सुन्दर भविष्को खोजीमा बेनी आएकी मनकुमारीले बेनीबजारको फोहोर संकलन र घरेलु मजदुरका रुपमा काम गरी शिक्षादीक्षासँगै पढाइमा समेत सुष्मालाई कहिल्यै कमी हुन दिइनन् । मनकुमारीले सुष्मालाई गर्भमा हुदैं पेटभरी खान कठोर ज्यालामजदुरी गरिन् । सुत्केरी भएको २० दिनमै पिठ्युँमा छोरी सुष्मालाई बोकेर दिनभर बेनीबजारको फोहोर उठाउने मनकुमारीले एक छाक पेटभरी खान नपुग्ने अवस्थामा पनि मागेर छोरीलाई हुर्काइन् । तत्कालिन अर्थुङ्घे गाविस र नगरपालिकाको फोहोर संकलनदेखि घरायसी काममा १५ बर्ष विताएकी मनकुमारीसँग अहिले पनि दुई छाक पेटभरी खान मुस्किल छ ।  https://youtu.be/TaVOmtRPKhE

छोरीलाई पेटभरि दालभात खान दिन नपाएका दिनहरू मनकुमारीले बताउँदा भक्कानिइन् । उनले बिरामी भएर छोरीलाई पाल्न नसक्ने अवस्थामा पढाइ र खेलकु्दका लागि आवश्यक परे शरीरको अंग बेचेर समेत पूरा गर्ने बताउँन नपाउँदै सुष्माका आँखा रसाए । पहिला मजदुरीबाट घर खर्च नचलेपछि मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु परेपछि छोराछोरीको अनुहारलाई हेर्न नसकेर पटक–पटक आत्महत्याको सोच समेत पलाएको मनकुमारीको भनाई छ । सुत्केरी अवस्थामा आफूले खान नपाएपछि छोरीलाई दूध पनि नआएपछि अर्काको दूध खुवाएर हुर्काएको मनकुमारीले बताइन । ‘छोरीले भोक लाग्यो भन्दा नसुनेरै धेरै रात विताएको छु, छोरीले भोक लाग्यो भन्दा धरधरी आँसु बग्थे’ मनकुमारीले भनिन् । अहिले पनि मजदुरीबाट आउने कमाइले कोठा खर्च र खाद्यान्न समेत किन्न पुग्दैनन् ।

१५ बर्षसम्म ज्यालामजदुरीमा काम गर्दा तत्कालिन अर्थुङे गाविस र नगरपालिकामा केही राहत पाउने आस गरेपनि रित्तै फर्किएपछि अहिले ब्यक्तिको घरमा सरसफाइ काम गर्ने गरेको मनकुमारीले बताइन् । उनले छोरीले गरिबी र अभावकै बिच खेलकुदमा चम्किलो स्वर्ण पदक भिरेर आउँदा पेटभरी खाएजस्तै हुने गरेको बताइन । मनकुमारीले दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि प्रकाश माविले उचित ब्यवस्थापन गरेकाले खेलकुद विधामा सफलता प्राप्त गरेकी सुष्माले जिल्लास्तरीय र प्रदेशस्तरीय खेलमा पदक जितेको बताईन् ।

‘मेरो लागि बुबाले एक दिन पनि समय दिनुभएन,‘बिरामी हुदाँ पनि आमाले मजदुरी गरेकै कारण अहिले यो अवस्थामा छु’ सुष्माले भनिन् । उनले आमाको आँखामा आँसु लुकाउन सक्ने दिन सबैभन्दा ठूलो सफलता हुने समेत बताइन् । मजदुरीमा आमाले बगाएको पसिना र खुसीमा आँखामा बग्ने आँसुले झनै आत्मबल बढेको बताईन्। मनकुमारीको दुई छोरी एक छोरा छन् जेठी छोरीको विवाह भइसकेको छ ।
उनले कक्षा १२ सम्म विद्यालयबाट खेल्ने खेलसँग अनुभवी प्रशिक्षकबाट समेत तालिम सहितको सहयोग आवश्यक रहेको बताईन् । उनले आफु्ँले मेडल जित्दा आमा धेरै खुसी हुने गरेको बताईन् । एथलेटिक्सको समुहगत खेलका विधामा सुष्मा चम्किदाँ आश मारेको पदक समेत विद्यालयले जित्न सफल भएको छ । ‘एथ्लेटिक्सकी सुन्दर भविष्य हुन्, विद्यालयका लागि उनले अहिलेसम्म ३० भन्दा बढी स्वर्ण जितेकी छन्’ प्रकाश माविका सहायक प्रअ विनय श्रेष्ठले भने ।

हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर पछिल्लो तीनबर्ष यता सुष्माले विद्यालय र आयोजकसँगै दर्शकलाई समेत चकित पारेकी छन् । प्रकाश माविका प्रधानाध्यापक लेखबहादुर हमालले एथलेटिक्स खेलबाटै सुष्माले जिल्लाका लागि समेत पदक दिलाउन सक्ने भएकाले उचित तालिम सहित प्रोत्साहनको आवश्यकता रहेको बताए ।
तीन दर्जन पदक बिजेता सुष्मा र उनकी आमा । तस्वीर हरिकृष्ण

Leave a Reply