बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्ने सातौं बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएपछि संघसहित सुरक्षा निकाय, स्थानीय तह र अन्य समुदायले पनि महोत्सवको तयारीमा साथ दिएका छन् ।

पुस ११ गतेदेखि २१ गतेसम्म संचालन हुने महोत्सवबाट आधादर्जन सामाजिक क्षेत्रको काम गर्ने लक्ष राखिएको छ । धवलागिरि बहुमुखी क्याम्पसको गरिब, बिपन्न तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति कोषमा साथ दिने, स्थानीय उत्पादनलाई जोड र कोसेली घर निर्माण तथा संचालनमा पहल, पत्रकार महासंघको संस्थागत बिकासमा साथ दिने, हाम्रो समुदाय राम्रो समुदाय भन्ने अभिव्यक्तिका साथ सामुदायिक प्रहरी रामरेखालाई सहयोग गर्ने, बजारमा सिसि क्यामेरा जडान र व्यवस्थापन गर्ने तथा व्यवसायी एकताका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्य राखिएको अध्यक्ष नरेश कंडेलले जानकारी दिए ।

संघले आइतबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । नेपाल भ्रमण बर्ष २०२५ लाई सभ्य र भब्य बनाउन सहयोग गर्ने, गण्डकी प्रदेशका पर्यटकीय स्थल र गतिविधिको प्रचार गर्ने, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने, उद्यमीको क्षमता बिकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण र ब्राण्डीङमा साथ दिने, स्थानीय परिकारलाई स्तरीकरण गर्ने क्रियाकलापमा पनि संघले साथ दिने बताइएको छ ।

मेलामा १ सय २० व्यापारिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल र बागलुङकै उत्पादनसमेत राखिने भएको हो । महोत्सवलाई जिल्लाकै प्रतिष्ठाको बिषय बनाउन सकेमा व्यापार व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने जस्ता काम अगाडि बढ्ने पनि कंडेलले बताए ।

पत्रकार सम्मेलनमा संघका प्रेस सल्लाहकार सुबास आचार्यले तयारीबारे प्रस्तुतीकरण गरेका थिए । बिगतमा जस्तै यो पटक पनि संघले गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सवको नामाकरण गरेको छ ।

महोत्सवको अबसरमा राष्ट्रिय कलाकारहरु आउनेछन् भने खुला रिले दोहोरी हुनेछ । खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन लाइभ कन्सर्ट, बाल उद्यान र जातजातीका झाँकी हुनेछन् । महोत्सवको कुनै दिन पारेर स्थानीय उत्पादन स्वरुप सुन्तला प्रर्दशनीको आयोजना गरिएको छ ।

यो पटक भलिबल भने पालिका स्तरीय हुने बताइएको छ । हरेक पटक बिभागीय टिमले स्थानीयलाई पराजित गर्ने अवस्था भएपछि स्थानीय खेलाडी प्रवद्र्धनका लागि पालिका स्तरीय भलिबल राखिएको कंडेलको भनाइ थियो ।

महोत्सवका लागि पूर्व अध्यक्ष युवराज राजभण्डारी नेतृत्वमा अतिथि सत्कार समिति, बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यको नेतृत्वमा कलाकार व्यवस्थापन समिति र उपाध्यक्ष संजयकुमार श्रेष्ठ नेतृत्वमा भलिबल खेल व्यवस्थापन समिति गठन गरिएको छ । कुल ३६ वटा समितिमध्ये महासचिव समग्र महोत्सवको सचिव र कोषाध्यक्ष आर्थिक संयोजक रहनेछन् । मेलाको उद्घाटन गर्न आउने राष्ट्रपति पौडेलले बागलुङ कालीका र पञ्चकोटको दर्शनसमेत गर्ने तयारी छ ।

Leave a Reply