ब्राहमण समुदायले घरबाटै दूध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दूध बिक्री गर्न पाएका छैन । गाउँमा दूध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ ।

सरोकारवाला निकायले नै चासो नदिँदा दूध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दूध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने बताए ।

काठेखोला गाउँपालिकामा दूध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरुको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दूध सङ्कलन केन्द्र स्थापना गर्ने बताए । काठेखोलाको दूध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ ।

“सङ्घसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो बढेको छ”, प्रवक्ता विकले भने । “गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ । अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ । हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ । किसानको सहजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दूध सङ्कलन केन्द्र स्थापना गर्नेछ ।”

काठेखोला गाउँपालिका–१ पालकाकी अस्मिता विकले दूध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताए । हिउँदमा कम भए पनि बर्षा याममा बढी दूध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गरे । छरछिमेकीको घरको दूध बिक्री भए पनि दलित परिवारको नहुने उनले गुनासो पोखे । आफूहरु अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विकले बताए ।

सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो । त्यसयता पनि हाम्रो समाजमा छुवाछूत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका–२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दूध बिक्री नभएकामा सङ्घर्ष गर्दै आएको बताए ।

गाउँमा दूध सङ्कलन र बजारसम्म पु¥याउनका लागि सहकारी स्थापना भए पनि आफूहरुलाई शेयर सदस्यसमेत बन्न नदिएको बताए । रासस

Leave a Reply