म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा स्वर्गीय पिताको सम्झनामा ५ लाख राशीको छात्रवृत्ति कोष’ स्थापना गरेका छन् । बेनपा–६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा छोराहरु प्रकाश बानियाँ, किरण बानियाँले ५ लाखको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् ।
शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले ५ लाखको रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कोष स्थापना कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले शिक्षामा लगानी बढाउनु पर्ने बताए । नेपालका विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन राज्यको स्रोतसाधन अपुग भएकाले निजी क्षेत्रबाट समेत सहयोग आवश्यकता रहेको बताए । उनले सरकारले शिक्षामा न्युनतम २० प्रतिशत लगानी गर्नुपर्ने बताए । ‘उच्च शिक्षाका लागि विदेश जाने लहर छ, यो अवस्थामा विद्यार्थीलाई स्वदेशमै अवसरको वातावरण बनाउनुपर्छ’ ज्ञवालीले भने ।

उनले देशमा दुईथरि नागरिक उत्पादन भईरहेको समेत बताए । एकथरी देशमै रोजगार गर्न सक्ने र अर्कोथरी शैक्षिक प्रमाणपत्र खल्तीमा राखेर प्रदेशीनुपर्ने अवस्था रहेको बताए ।

नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका ज्ञवालीले विभिन्न विद्यार्थी संगठनहरुले नेपालका विश्व विद्यालयहरुमा ताला लगाउने, प्राध्यापकहरुलाई कुटपिट गर्ने, जस्ता आतंक सृजना गराउदा विश्वविद्यालयको शैक्षिक गुणस्तर झनै खस्किदै गएको समेत बताए ।

त्रिभुवन विश्वविद्यालयले हालै मात्र सवैभन्दा धेरै विद्यार्थीलाई एकैचोटि दिक्षित गरेर विश्व रेकर्ड राखेको दावी गरेको प्रति कटाक्ष गर्दै पूव मन्त्री ज्ञवालीले संख्यामा धेरै भन्दा पनि विश्व श्रेणीमा १ हजार भन्दा माथिको स्थानमा रहेको नेपालको विश्वविद्यालयले श्रेणी कम गर्न तर्फ लाग्नुपर्ने बताए ।

शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरु पनि पेशा प्रति जिम्मेवार कर्तव्यनिष्ठ बन्नुपर्ने बताए । कार्यक्रमका अवसरमा स्व. बानियाँको तस्विरमा प्रमुख अतिथिको पूर्व मन्त्री ज्ञवालीले माल्यार्पण समेत गरेका थिए । कोषका संस्थापक संरक्षक किरण बानियाँले वुवाको शिक्षाको क्षेत्रमा सेवा गर्ने चाहनालाई पुरा गर्नका लागि कोष स्थापना गरेको बताउँदै गरिव, दलित, असहाय, तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताए ।

हाल ५ लाखबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै २५ लाख पुराउने लक्ष रहेको उनले बताए । वार्षिक व्याजबाट ६० प्रतिशत छात्रवृत्ति वितरण गर्ने र ४० प्रतिशत रकम कोषमा नै थप गर्दै लगिने छ । कोषबाट उच्च शिक्षा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई समेत सहयोग गर्न सकिनेछ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यालयका पूर्व शिक्षक अभिभावक संघ सदस्य समेत रहेका स्व. हिरा बहादुर बानियाँको सामाजिक योगदानको चर्चा गरेका थिए । कोषका संस्थापक, संरक्षक र विद्यालय विच समझदारी गरेर कोष संचालन निर्देशिका तयार गरिएको बताए । कार्यक्रममा बानियाँ परिवारले ५० हजार बराबरको खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै विद्यालयका ११४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको कोषका संस्थापक संरक्षक किरण बानियाँले बताए । वि.स.२००८ साल वैशाख २८ गते जन्मिएका बानियाँको २०७९ साल कार्तिक १० गते हृदयघातका कारण मृत्युभएको थियो । स्व. वानियाँका २ श्रीमति, २ छोरा र ३ छोरी रहेका छन ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष देवेन्द्र कटुवाल, बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, प्रकाश माविका प्रधानाध्यापक लेख बहादुर हमाल, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल लगायतले मन्तव्य गरेका थिए । स्व. वानियाँको श्रीमति बलदेवि बानियाँ, बाल कुमारी बानियाँ, भाई गणेश बानियाँ लगायत सम्पूर्ण परिवारको उपस्थिति रहेको थियो । कार्यक्रम कोषका संस्थापक प्रकाश बानियाँको अध्यक्षता र विद्यालयका शिक्षक टेक बहादुर चोखालको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply