अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सिंगाको कोल्डस्टोरमा परीक्षणका लागि सुन्तला भण्डारण

On: December 22, 2023 8:25 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–४ सिंगा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) मा सुन्तलाभण्डारण गर्न थालिएको छ । सुन्तलाको पकेट क्षेत्र बास्कुनाबाट पहिलो दिन ४९ क्रेट अर्थात ९ सय ८० केजी सुन्तला भण्डारण गरिएको छ ।

बेनी नगरपालिका तथा जिल्लाको सुन्तला उत्पादन हुने पकेट क्षेत्रका कृषकले सिजनमा सुन्तला टिपेर सस्तोमा बेच्नुभन्दा कोल्डस्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनपा–४ का वडा अध्यक्ष अण बहादुर खड्काले बताए ।

‘यसबर्ष परीक्षणको रुपमा राखिने छ, कोल्डस्टोर बनेपछि कृषकहरू खुसी भएका छन्’ अध्यक्ष खड्काले भने। उनका अनुसार कोल्डस्टोरमा राख्नका लागि बेनी नगरपालिकाले ४ सय खाली क्रेट समेत उपलब्ध गराएको छ ।

यसबर्ष परीक्षणका लागि ४ सय क्रेट सुन्तला राखिने भएपनि कोल्डस्टोरको ३ सय मेट्रिक्टन क्षमताको रहेको वडा अध्यक्ष खड्काले बताए । कोल्डस्टोरमा विद्युत आपूर्ती सहित अन्य संरचनाहरू समेत आधुनिक भएकाले परीक्षण सफल भएसँगै आगामी बर्ष क्षमता अनुसार नै सुन्तला भण्डारण गरिने अध्यक्ष खढ्काको भनाई छ ।

Adv

कोल्डस्टोर निर्माणका लागि १करोड ८३ लाख ४४ हजार लागत अनुमान गरिएकोमा राजेशवावु निर्माण सेवा जाजरकोटले १ करोड ५१ लाख २० हजारमा निर्माण सम्पन्न गरेको थियो। यसपटक बास्कुना, भकिम्लीको मरेक, राखु र बरंजाको सुन्तला कोल्डस्टोरमा राखिने छ ।

बेनी नगरपालिकाको–३ को भकिम्लिको राखु, मरेक लगायतको बस्तीबाट मात्रै बार्षिक डेढ करोडको सुन्तला बिक्री हुन्छ भने वडा नं ४ को बास्कुना, थामाडाँडाबाट करिब १ करोड र बरंजाबाट समेत १ करोडको हाराहारीमा सुन्तला निर्यात हुन्छ। सुन्तलाको सिजनमा मात्रै बिक्रि गरिरहेको अवस्थार्मा कोल्डस्टोर बनेपछि बैमौसममा बिक्री गर्ने गरी भण्डारणमा सहज भएको बास्कुनाका कृषक सन्दिप खत्रीले बताए । कोल्ड स्टोरमा मौसम अनुसार आलु, तथा किबीका साथै अन्य नगदेबालीलाई समेत भण्डारण गरिने छ ।

मौसमको समयमा कम मुल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्रि गर्दा राम्रो मुल्य पर्नेभएकाले किसानलाई फाइदै फाइदा हुने भएकाले बेनी नगरपालिकाले कोल्डस्टोरलाई बषैभरी नै प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाईराख्ने उपकरण र संरचना सहित बनाएको छ । कोडस्टोरमा सुन्तलाको परीक्षण सफल भएमा आगामी बर्ष सिजनमा ब्यापारीलाई बारीबाटै सस्तोमा बिक्री गनुपर्ने सुन्तला कृषकको दिन अन्त्य हुने छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।