विभिन्न चाडपर्वका समयमा विद्यार्थीलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पार्ने विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ। महानगरपालिका शिक्षा विभागका अधिकृत मोती भट्टराईका अनुसार महानगरभित्रका विशेषगरी निजी विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई थरीथरीका अतिरिक्त पोसाक खरिद गर्न बाध्य पारेको गुनासो आएपछि कारबाही प्रक्रिया सुरु गरिएको हो।

विद्यालयहरूले विभिन्न चाडपर्वका बेला चाडपर्वसँग सम्बन्धित पोसाक किन्न लगाएर विद्यार्थी र अभिभावकमाथि आर्थिक भार थपेकाले विभागले त्यसो नगर्न सचेत गराउने र अटेरी गरे जरिवानासहित कारबाही गर्ने निर्णय भएको जानकारी भट्टराईले दिए।

‘यतिबेला क्रिसमसको अवसरमा विभिन्न निजी विद्यालयले विद्यार्थीलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पारेको गुनासो आएको छ,’ अधिकृत भट्टराईले भने, ‘अभिभावक आर्थिक मन्दीको मारमा छन्। विद्यालयभित्र पनि तोकिएको अतिरिक्त पोसाक नलगाउने विद्यार्थीप्रति हेयको दृष्टिकोण राख्ने गरिएको गुनासो पनि आएको छ। यसले शिक्षा र पोसाकका नाममा विद्यालयमा विकृति देखियो।’

उनका अनुसार महानगरपालिकाले सबै विद्यालयलाई त्यसो नगर्न/नगराउन परिपत्र जारी गरेको छ।अटेरी गर्ने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधन) र प्रचलित अन्य कानुनबमोजिम दण्ड सजाय हुने उनले बताए।

उनका अनुसार विद्यार्थीलाई अनावश्यक रूपमा पोसाक र पाठ्यक्रम विकास केन्द्रले तोकेभन्दा थप पुस्तक किन्न लगाए कारबाही हुने बेहोराको सूचना विद्यालयहरूमा पठाइसकिएको छ।‘महानगरपालिकाले अनुगमन बढाएको छ। निर्देशन नमान्ने विद्यालयलाई स्पष्टीकरण सोधिनेछ,’ उनले भने, ‘अटेरी गर्नेको हकमा महानगरीय प्रहरी खटाएर विद्यालय बन्दसम्म गराउने निर्णय भएको छ।’

निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका काठमाडौं जिल्ला अध्यक्ष प्रेम राईका अनुसार प्याब्सनले विद्यार्थीलाई अतिरिक्त पोसाक वा पाठ्यपुस्तक खरिद गर्न बाध्य पार्ने निर्णय गरेको छैन।

‘विद्यालयहरूले धर्म, संस्कृतिबारे बालबालिकालाई व्यावहारिक ज्ञान दिनु सकारात्मक हो तर अभिभावकलाई आर्थिक भार पर्नेगरी अतिरिक्त पोसाक खरिद गर्न लगाउनु हुँदैन,’ राईले भने, ‘महानगरपालिकाले अनुगमन, नियमन गर्नु ठिक हो।’

टोखा नगरपालिकामा रहेको इडेनब्रिज विद्यालयका प्रिन्सिपलसमेत रहेका राईले थपे, ‘विभिन्न धर्म, संस्कृति चाडपर्वबारे हाम्रो विद्यालयले पनि व्यावहारिक ज्ञान दिने काम गर्छ। तर अभिभावकमाथि आर्थिक भार पर्नेगरी कुनै काम हुँदैन।’

अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले महानगरपालिकाको निर्णय सह्रानीय रहेको बताए। विद्यालयहरूले धर्म, संस्कृति चिनाउने नाममा अतिरिक्त पोसाक किनाउने व्यापार गरी विकृति फैलाएको उनको ठहर छ।

‘काठमाडौं महानगरपालिकाले आँट गरेको छ विकृति रोक्न, यो प्रशंसनीय कार्य हो,’ अध्यक्ष भण्डारीले भने, ‘विद्यालयहरूले शिक्षाको आडमा मौलिक संस्कृति मास्ने र फरकफरक पोसाक खरिद गर्न बाध्य पारिरहेका छन्। यो शिक्षामा देखिएको विकृति हो। विद्यालयले धर्मसंस्कृति चिनाउन पाइन्छ तर त्यसको बहानामा ब्यापार गर्न छुट हुँदैन।’

हाल काठमाडौं महानगरपालिकाभित्र ८७ वटा सार्वजनिक र ५०४ वटा निजी विद्यालय सञ्चालित छन्।

Leave a Reply