बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धन हुने आशा गरिएको छ।

महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने आयोजकले जनाएका छन्।महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवका अर्थ संकलन तथा ब्यवस्थापनका कार्यहरु भइरहेको छ । ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारा तय गरिएको छ ।

महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको छ । महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने छ ।महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।

महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ। महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुत रहने आयोजकले जनाएका छन् । महोत्सवको प्रचारप्रसार सहित सर्वाधिक पर्यटक भित्राउने गरी तयारीमा जुटेको संघका प्रेस संयोजक सुवास आचार्यले बताए ।

Leave a Reply