म्याग्दीको मंगला गाउँपालिका-४,बुकेनी स्थित गांम्फा युवा क्लबको सक्रियतामा खेलकुद मैदान निर्माण भएको छ । मैदानकै अभावमा खेलाडी खेलकुदका गतिविधिबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय संघसंस्था, चन्दादाता र मंगला गाउँपालिकासँग सहकार्य गरी खेलमैदान निर्माण गरिएको हो ।

गाउँपालिकाको ८ लाख रुपैयाँ, प्रवासमा रहेका बुकेनीबासीबाट ७ लाख, बुकेनी आमा समुहले जग्गा खरिदको लागि पाँच लाख सहयोगमा खेलमैदान निर्माण गरिएको गांम्फा युवा क्लबका संस्थापक अध्यक्ष दुर्गा रोका मगरले बताए ।

’खेलकुद गतिविधिलाई ब्यापक बनाउन सबैको सहयोगमा मैदान तयार भएको छ, अझै यसलाई ब्यवस्थित बनाउँदै लैजान्छौ‘ अध्यक्ष रोका मगरले भने । उनका अनुसार जग्गा खरिद र खेलमैदान निर्माणको लागि मंगला–५,पिपलबोटका समाजसेवी विरेन्द्र बुढाथोकीले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

खेलमैदान निर्माण गर्दा स्थानीयबासीले श्रमदान समेत गरेका थिए । खेलमैदान निर्माणमा सहयोग गर्नेलाई सम्मान समेत गरिने जनाइएको छ । क्लवले खेलमैदानलाई बहुउदेश्यीय गतिविधि सञ्चालनका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाएको छ ।

क्लवको बार्षिक उत्सव हुने
क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा यहि पुस २६ गतेदेखि माघ १ गतेसम्म वार्षिक उत्सव मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । क्लब अध्यक्ष अमिन रोकाका अनुसार पुरुष ,महिला र प्रौढ भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।

त्यसैगरी सो–डान्स ,लठ्ठो तान्ने र अन्धनिसान लगायत प्रतियोगिता सञ्चालन हुने बताए ।पुरुष भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ६० हजार र ३५ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।प्रौढ भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

त्यसैगरी महिला भलिबल विजेता र उपविजेताले क्रमशः२० हजार र १२ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।माघ १ गते चर्चित गायक खड्क गर्बुजा र गायीका सुशिला विश्वकर्मा लगायत स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । सामाजिक क्रियाकलापमा सक्रिय युवा क्लबको खेलमैदान निर्माण गरिएको छ ।

Leave a Reply