म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले प्रतियोगिताले विद्यालय स्तरमा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रपछि स्थानीय सरकारले पालिका स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नथालेपछि खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरुको पहिचान, खेलाडीको क्षमता विकास र खेल पूर्वाधार निर्माणमा टेवा पुगेको उहाँको भनाई थियो ।
कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५÷१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।
साथै भलिबल,कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई पाँच÷पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले प्रतियोगिताले विद्यार्थीहरुमा रहेका खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताएका थिए ।
पहिलोदिन सम्पन्न भएको १५ सय मिटर दौड प्रतियोगिताको छात्र तर्फ मुक्तिमार्ग मावि घारका विद्यार्थी मन्दिप परियार प्रथम,शिख माविका राजन तिलिजा द्धितीय,ज्ञानप्रकाश मावि दानाका अमृत बसेल तृतीय भए ।
यसैगरी छात्रा तर्फ शिख माविकी रितु विक प्रथम,प्रभा मावि नारच्याङकी रेजिना पुन द्धितीय र टिकोट माविकी रेनु पुन तृतीय भए । विजेता खेलाडीहरुलाई जिसस प्रमुख थापा,गाउँपालिका अध्यक्ष पुन लगायत कार्यक्रमका अथितिहरुले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको संचाचलन प्रतियोगिता सह आयोजक मुक्तिमार्ग मावि घारका प्रधानाध्यापक ठकराज बरुवाल गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन पूर्व पोखरेबगरमा नौमति बाजा सहित शिक्षक,विद्यार्थी लगायतले ¥याली निकालेका थिए । प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ ।