बागलुङका व्यापारीले चिनी १ सय ३५ रुपैयाँसम्ममा बेचेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले ९४ रुपैयाँ प्रतिकेजीमा होलसेल व्यपारीको पसलमा ल्याइदिने योजना बनाउँदा व्यापारीले आफैं ल्याएर मनोमानी मूल्यमा बेचेका छन् । वीरगन्जबाट प्रतिकेजी ९४ रुपैयाँमा ल्याएको चिनी बजारमा १ सय ३५ रुपैयाँसम्म तिर्नु पर्दा उपभोक्ता मारमा छन् ।

कुनै व्यापारीले बागलुङ बजारमा १ सय २५ रुपैयाँ सम्ममा पनि चिनी बेच्ने गरेका छन् । यसरी बेच्न पल्केकाहरुले साल्ट ट्रेडिङको चिनी खरिद नगरेका हुन् । ‘हामीले सँधै सुपथ मूल्यमा व्यापारीलाई चिनी उपलब्ध गराएका थियौं, यो पटक महँगोमा बेच्न नपाइने डरले अन्यत्रैबाट ल्याए,’ साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका प्रमुख मनोज श्रेष्ठले भने, ‘उपभोक्ता मारमा परेका छन् ।’ चिनी अझै घटेर आउने क्रम भइरहेपनि व्यापारीले महँगोमा बेच्न नछाडेको उनले बताए ।

९३ रुपैयाँ ५० पैसामा खरिद गरेर गोदाममा झरेको चिनी उपभोक्ताले कम्तिमा ९५ रुपैयाँमै पाउनु पर्ने श्रेष्ठको भनाइ छ । बढी भएपनि १ सय रुपैयाँ भन्दा बढी तिर्न नमिल्ने उनको भनाइ छ । मुख्य डिलर सञ्चालक कमल प्रधानले ९४ रुपैयाँमा थोक र ९६ रुपैयाँमा खुद्रा बिक्रेताले पाएको बताए ।

‘यो चिनी बढीमा १ सय भित्रै बेच्नुपर्छ भनेका छौं,’ प्रधानले भने, ‘किन यस्तो भयो, बुझ्नुपर्छ ।’ अर्का होलसेल व्यापारी योगेन्द्र शर्माले कम्तीमा १ सय १० भन्दा कममा बेच्न नसक्ने प्रतिक्रिया दिए । उनीहरुले रिटेलमा दिँदा १ सय ५ भनेपछि खुद्रा पसलमा १ सय १५ रुपैयाँसम्म पर्ने गरेको साना व्यापारीले बताउने गरेका छन् । तर उपभोक्ताले न्यूनतम १ सय २५ र बढीमा १ सय ३५ रुपैयाँमा चिनी खरिद गरिरहेका छन् ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, उपभोक्ता मञ्च र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको संयुक्त अनुगमनमा उपभोक्ताले महँगो मूल्य तिरेको, व्यापारीले कालो बजारी गरेको पत्ता लागेको छ । ‘हामीले पहिलोपटक सम्झाएर छाडेका छौं, अति भयो भने उपभोक्ता हित संरक्षण ऐन २०७५ र सामाजिक अपराध ऐन २०३१ अनुसार कारावही गर्न सकिन्छ,’ बरालले भने, ‘कारवाहीमा जानु परेमा व्यापारीले लाखौं रुपैयाँ जरिवाना गर्न सकिन्छ ।’ अनुगमनमा अधिकांशले रसिद समेत नदेखाएको उनले बताए ।

चिनीको कृत्रिम अभाव हुन सक्ने भएकोले तिहार र छठपर्वका लागि बागलुङ नगरपालिकाले तोकिएका स्थानमा १ सय २० रुपैयाँमा चिनी बेच्ने अनुमति दिएको थियो । त्यतिबेला चिनीको मूल्य १ सय ५ थोक बिक्रेताकै पर्ने गरेको थियो । १ सय १० भन्नु समेत उपभोक्ता हित विपरीत भएको बरालले टिप्पणी गरे । साताअघिदेखि नेपाली चिनी मिलबाट सिधै बिक्री हुन थालेको र सस्तोमा आउन थालेको हो । केही दिनमा चिनी मिलले ९० रुपैयाँमै चिनी दिन सक्ने भएपछि उपभोक्ताले बढीमा ९५ रुपैयाँ तिरेरै पाउन सक्ने अवस्था बन्नुपर्ने बरालले बताए ।

श्रेष्ठका अनुसार अहिले पनि छिमेकी जिल्ला पर्वत र म्याग्दीमा अधिकतम १ सय रुपैयाँमा चिनी बिक्री भइरहेको छ। बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उपभोक्ता मारमा पर्ने काम गर्न नपाइने बताए । ‘उद्योग वाणिज्य संघ मार्फत नै थोक बिक्रेता र खुद्रा बिक्रेता मिलेर उपभोक्ता मूल्य समायोजन गर्न भनेका छौं,’ खड्काले भने, ‘केही दिनमै परिवर्तन भएन भने सघन अनुगमन गरेर कारबाही प्रक्रिया थाल्छौं ।’

स्थानीय साना व्यापारीले होलसेलबाट १ सय १० घटीमा किन्नै नपाउने गरी मूल्य राखेको गुनासो गरे । ‘मैले नै किन्दा १ सय १० मा किनेको थिएँ,’ बागलुङ नगरपालिका २ की व्यवसायी हिरा शर्माले भनिन्, ‘चिनी घटेको छ भन्छन्, हामीले नै किन्न पाएका छैनौं ।’ बेनीका व्यापारीले भने अहिले पनि साल्ट ट्रेडिङबाट ९४ रुपैयाँमा लगेर १ सयमा बेचेको श्रेष्ठले बताए । Dhorpatannews

Leave a Reply