म्याग्दीको विद्यालयस्तरीय एथलेटिक्समा बर्चस्व कायम गरेकी मंगला गाउँपालिका–५,पुलचोक बस्ने रिकजना बोटे (माझी) को खेलकुद र पढाइका लागि अमेरिकामा रहेका एक म्याग्देलीले अभिभावकत्व ग्रहण गरेका छन् ।

धवलागिरी गाउँपालिका–१ गूर्जा घर भई हाल अमेरिकामा सफल नेपाली ब्यवसायीको रुपमा स्थापित अम्मर छन्त्यालले मंगला मावि बावियाचौरमा कक्षा ९ मा अध्ययनतर रिकजनाको खेलकुद र शैक्षिक गतिविधिलाई गतिशीलता दिन बार्षिक २५ हजार आर्थिक सहयोग गरेका हुन् ।

प्रवासमा रहेका म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियका निर्वतमान अध्यक्ष समेत रहेका छन्त्यालले एथलेटिक्समा जिल्लाको भविस्यका रुपमा रिकजनालाई देखेको भन्दै घोषणा गरेको सहयोग आइतबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले रिकजना र विद्यालयका प्रधानध्यापक गमबहादुर खत्रीलाई हस्तान्तरण गरे । रिकजनाको आफ्नै नाममा गरिमा विकास बैंकका खाता खोली उक्त रकम जम्मा गरिएको छ ।

Adv

ज्यालामजदुरी गरी गुजरा चलाइरहेका आमाबुबाको कमाइले विहानबेलुकी पेटभरी खान समेत नसक्ने अवस्थामा एकल महिला भवानी बुढाथोकीले संरक्षकत्वमा हुर्किएकी रिकजनालाई नियमित प्राप्त हुने सहयोगले सहज भएको गाउँपालिका अध्यक्ष रोकाले बताए ।

‘यो सहयोगले रिकजनाको जीवनमा ठूलो अर्थ राख्छ। राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोग खाचो छ,’ अध्यक्ष रोकाले भने । उनले गाउँपालिकाभित्रका प्रतिभावान खेलाडीलाई सहयोगसहित नियमित तालिम सहितका अवसरमा समेत प्राथमिकता दिने बताए ।

सोही अवसरमा विद्यालयका प्रअ खत्रीले खेलकुद र पढाइमा रिकजना राम्रो रहेको बताए । उनले खेलकुद र शिक्षा एक अर्काका परिपूरक रहेकोले रिकजनालाई दुबैमा अब्बल बनाउने निरन्तर मेहनत गरेको बताए । उनले एथलेटिक्स, भलिबल र कबडीमा रिकजना निकै सम्भावना भएको खेलाडी भएपनि विद्यालयले एथलेटिक्समा प्राथमिकता दिएको बताए ।

सोही अवसरमा रिकजनाले अप्ठेरो अवस्थालाई देखेर सहयोग गरेकोमा खुशी लागेको बताइन् । उनले सहयोगदातालाई धन्यवाद दिदैं खेलकुद र शिक्षा क्षेत्रमा खर्च गर्ने बताईन् ।पालिकास्तरमा एथलेटिक्स बिधानमा सर्वोत्कृष्ट खेलाडी रिकजाले जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गदैं चार स्वर्ण पदक दिलाएकी थिइन् ।

उनले गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड अन्तरगत पोखरा रंगशालामा एथलेथिक्सको छात्रा ३ जम्पमा स्वर्ण र ४ सय इन्टु ४ रिलेतर्फ काँस्य पदक जित्दै गण्डकी प्रदेशबाट राष्ट्रिय खेलका लागि छनौट समेत भईन् ।

पालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा मंगला माविबाट ६ स्वर्ण जितेकी थिईन् । एथलेटिक्स विधामा अलराउन्ड रिक्जना एथलेटिक्सतर्फ जिल्लास्तरमा सर्वोत्कृष्ट खेलाडी हुन् । एथलेटिक्समा खुड्किला उक्लिँदै राष्ट्रियस्तरको खेलसम्म पुगेकी रिक्जनाको सपना राष्ट्रिय खेलाडी बनेर ओलम्पिक खेलसम्म पुग्ने लक्ष्य रहेकाले सहयोग गरेको अमेरिकामा रहेका छन्त्यालले बताए ।

‘विपन्न परिवारकी रिकजनालाई सक्ने सहयोग गर्छु, उनको खेल जिवनको सुन्दर भविस्यका लागि सानो सहयोग मात्रै गरेको छु’ छन्त्यालले भने । उनले खेलकुदसँगै शिक्षालाई पनि प्राथमिकता दिने गरी अगाडी बढ्न समेत रिकजनालाई सुझाव दिएका छन् ।

चरम अभाव र समस्यालाई जितेर उदीयमान खेलाडी बन्न सङ्घर्षशील रिकजनले खेलमा जितेको पदकले प्रतियोगिताको अंकतालिका नै फेरिन्छ । उनको नाममा जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जित्ने खेलाडीको रेकर्ड समेत छ । रिकजनालाई प्रयाप्त तालिम सहितको सुविधा जुटाउन सकेमा एथलेटिक्स विधामा टिकाउन र बिकाउन सकिने खेल क्षेत्रका जानकारहरु बताउँछन् ।

Leave a Reply