साविक धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ बजारमा बागलुङ महोत्सवको तयारीले झकिझकाउ देखिन्छ । सडकका छेउछाउका पोलहरु झिलिमिलि बत्तीले झकिझकाउ छन ।

नेपालको झण्डा, माहामहीम राष्ट्रपतिका फोटाले बजारको रौनक देखिएको छ । जिल्लाको निजि क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हरेक २-२ वर्षमा गरिने महोत्सव यस पटक भने ४ वर्ष पछाडि सातौं संस्करणको रुपमा पुस ११ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने आयोजक बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले बताउनुभयो ।

महोत्सवले कोरोना भाइरषको असर र आर्थिक मन्धिको कारण सुस्ताएको व्यापार चलायमान गराउँदै जिल्लाको पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने आशा गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष कंडेलले बताउनुभयो ।

महोत्सवको उद्घाटन पौष ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने आयोजकले जनाएका छन्। महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्ने अपेक्षाका साथ महोत्सव गर्न लागिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । महोत्सवको आर्थिक संकलन, स्टल व्यवस्थापन, मञ्च निर्माण तथा प्रचारप्रसार सहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको कँडेलको भनाई रहेको छ ।

‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने मुल नारा राखिएको महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको छ । महोत्सवमा १५५ भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने छ ।

महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ । बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालन हुने महोत्सवमा पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, लाईभ दोहोरी गीत लगायतका प्रतियोगिता आयोजना गरिएको संघका प्रेस संयोजक सुवास आचार्यले बताउनुभयो ।

महोत्सवमा कलाकार प्रमोद खरेल, विष्णु खत्री, प्रिति आले, रामजी खाँड, प्रकाश दुतराज, मञ्जु पौडेल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुत रहने आयोजकले जनाएका छन् । महोत्सवको प्रचारप्रसार सहित सर्वाधिक पर्यटक भित्राउने गरी तयारीमा जुटेको संघका प्रेस संयोजक आचार्यले बताउनुभयो । ४ वर्षपछि हुनलागेको महोत्सवले जिल्लाको अर्थतन्त्रमा सकारात्मक परिवर्तनको प्रभाव रहने व्यावसायीले अपेक्षा राखेका छन ।

Leave a Reply