बाग्लुङ – हिजो आइतवार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाउनुभयो ।

बाग्लुङबाट पुगेका धेरै अतिथिले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रवर्द्धन भएको भन्दै धेरेले प्रशंसासमेत गरेका छन् । मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने धेरैले अड्कल गरे पनि स्थानीय उत्पादन रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउँदा अतिथि दङ्ग परेका बाग्लुङ नगरपालिकाका मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

‘रायडाँडाको रायोको साग भनेपछि बजारमा खोजेरै खाइन्थो । औपचारिक कार्यक्रममा निगालोको सानो डोकोमै मायाको चिनो आउला भनेर कसैले सोचेनौँ’, मेयर श्रेष्ठले भन्नुभयो, ‘स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रवर्द्धनका लागि यो निकै राम्रो कामको शुरुवात भएको छ । कार्यक्रममा प्रयोग हुनुका साथै स्थानीय उत्पादनलाई मायाको चिनो दिने अभियान थालेका छौँ ।’ उहाँका अनुसार नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रूपमा रहेको वडा नम्बर ११ को रायडाँडा कृषिमा निकै सम्भावना भएको गाउँ हो ।

Adv

रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएकाले थप प्रचारप्रसारका लागि मायाको चिनोका रूपमा चोयाबाट बनेको डोकोमा साग हालेर दिइएको बाग्लुङ–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । साग खाने र डोको सजाएर राख्न सकिने भन्दै यहाँको स्थानीय उत्पादनसँग वडा कार्यालय जोडिन खोजेको उहाँको भनाइ थियो ।

‘यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट हुन्छ । स्थानीय बजारका साथै पोखरासम्म पुग्ने गरेको पाएका छौँ । शुरुमा सहकारीमार्फत सागको बजारीकरण गर्न बानी बसालेका थियौँ । अहिले किसान आफैँ बजारमा साग पुर्‍याउनुहुन्छ’, गौतमले भन्नुभयो, ‘बाग्लुङ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्लाका क्रियाशील पत्रकारलाई मायाको चिनो दिँदा सागको माग बढ्ने र यहाँको उत्पादनले बजार पाउने अपेक्षासहित १३ जना अतिथिलाई डोकोमा राखिएको साग उपहार दिएका हौँ ।’

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मनिर्भर छ । यहाँका किसानले तीन महिनादेखि दैनिक एक जीपभरी साग बाग्लुङ बजार पठाउँदै आएका स्थानीय हिराबहादुर थापाले बताउनुभयो । यहाँका किसानले वार्षिक दुई लाख रुपैयाँसम्म सागबाटै कमाउने गरी पाखोबारीभरी खेती गर्दै आएका उहाँले जानकारी दिनुभयो ।

‘एक वर्षमा रायोको सागमात्रै बिक्री गरेर एउटा किसानले तीन लाख रुपैयाँसम्म कमाएको तथ्याङ्क छ । बजारमा मूल्य भने स्थिर छैन । अहिले धारापानीबाट एउटा जीपभरी साग मात्रै बजार जान्छ ।

कहिले धेरै कहिले थोरै मूल्य पर्छ । न्यूनतम २० रुपैयाँमा एक मुठो साग बिक्री हुन्छ । व्यापारीले यहाँको साग पोखरा पठाएकोसमेत पाएका छौँ’, किसान थापाले भन्नुभयो, ‘यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ । एकपटक कसैले यहाँको साग खाएमा अर्कोपटक माग आइहाल्छ । हामीले माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो ।’

बजारका तीन वटा पसलमा रायोको साग पाइन्छ भनेर बजारवासीलाई अवगत भइसकेको भन्दै रायाडाँडाको साग ‘ब्रान्ड’ बन्दै गएको उहाँले बताउनुभयो ।रायडाँडा बसाइँसराइको चपेटामा रहे पनि धारापानी भने मगर बस्ती भएकाले यहाँबाट कम बसाइँसराइ हुने गरेको छ । यहाँका स्थानीयले रायोको सागसँगै मूला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन् ।

Leave a Reply