पुस महिनाको जाडोमा घाम प्यारो कसलाई पो नहोला र ? हिउँदको फुर्सदिलो समयमा पाहारिलो घाममा बसेर बदाम र सुन्तला खाँदै आफन्त र दौतरीहरुसँग गफिनुको मज्जा नै बेग्लै हुन्छ । तर भौगोलिक अवस्थिती र प्रतिकुल प्रकृतिका कारण यस्तो अवसर सबै ठाउँका मानिसहरुलाई भने मिल्दैन ।
जाडोको याममा पाहारिलो घाममा बसेर रमाउने यस्तो अवसरबाट बगरफाँटवासीहरु पनि ठगिएका छन् । बगरफाँटवासीलाई पुस,माघको जाडोमा पाहार (घाम) ताप्न गाउँ नै छोडेर पल्लो गाउँमा पुग्नुपर्ने वाध्यता छ ।
दक्षिणबाट उत्तरतर्फ फर्किएको बगरफाँट गाउँ म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पर्छ । चारैतिर उच्च भूगोल,शिरमा जंगल,जंगलमाथि तोराखेतको चट्टानी पहरो र पुछारमा म्याग्दी नदी पर्ने यो गाउँ सुविधा र उत्पादनका हिसावले सम्पन्न र प्राकृतिक सुन्दरताले युक्त हुँदाहँदै पनि हिउँदका तीन महिना (मंसिर,पुस र माघ) अत्यन्त कष्टकर छ ।
पूर्वबाट उदाएको घाम दक्षिणको छेको हुँदै पश्चिममा पुगेर अस्ताउने क्रममा तीन तिरका अग्गा डाँडाहरुले छेकिदिँदा बगरफाँट गाउँमा मुस्किलले दुईघण्टा भन्दा बढी घाम पर्दैन । यही समयमा आफ्नो घरको काम सकेर पाहार ताप्नका लागि यहाँका वासिन्दाहरु बगरफाँटकै तल्लो भेग पलाँसे तथा बगरफाँट र बेनी नगरपालिका ६ मा पर्ने डम्मरा जोड्ने म्याग्दी नदीको पुल तरेर पल्लो गाउँ डम्मरामा पुग्ने गर्छन् ।
“घरमा घामै पर्दैनन्,जाडोले बसीखानु हुँदैन,खाना खाएर डम्मरामा जान्छौं र तीन बजेसम्म घाम तापेर घर फर्कन्छौँ” बेनी नगरपालिका २ बगरफाँटका ७१ वर्षिय टेकबहादुर कार्कीले भन्नुभयो ।
टेकबहादुर मात्रै होइन,बगरफाँटको कुरुङ्दी,खहरेखोला र खहरेखोला पारीका तल्लो र उपल्लो भेगका वासिन्दाहरु घरको काम सकेर बालबच्चा सहित घामको खोजिमा घन्सेघरा,पलाँसे वा डम्मरामा पुग्नुपर्ने वाध्यतामा छन् ।
“घाम नपर्दा धोएका कपडा सुक्नै पाँच/सात दिन लाग्छ, जंगलको ओंत र म्याग्दी नदीको चिसो सिरेठोले मुटु कमाउँछ, खाना खाएर घामको खोजिमा कहिले डम्मरा,कहिले पलाँसे त कहिले बेनी नै जाने गर्दछु” स्थानीय इन्द्रबहादुर थापाले भन्नुभयो ।
स्थानीय बुद्धिजीवि नारायणबहादुर कार्कीका अनुसार वगरफाट वनजंगल, नदी किनारको काखमा रहेको रमणीय खेती योग्य उर्वर समथर भुमी भएर पनि हिउदको लागि प्रकृतीले पनि विभेद गरेको छ । “उत्तर फर्केको भूभाग,लभ्लीहिल देखि तोराखेत चिप्लेटीसम्मका अग्ला डाडाकाडाका कारण हिउदको पाहारिलो घाम उपभोग गर्न हामी वगरफाटवासी वन्चित छौँ” कार्कीले भन्नुभयो ।
उहाँका अनुसार समयक्रमसँगै रहन सहन, काम गर्ने तौरतरिकामा आएको फेरवदलको कारण घाम ताप्न पारी गाउमा जानुपरेको हो ।पहिले पहिले गाउँलेहरुले गाईभैसी पाल्थ्ये । दाउराले खाना पकाउनु पथ्र्यो । त्यसैले वहुसंख्यक मानिसहरू वनजंगल जान्थ्ये । वनजंगल पसे तातो हुन्छ भन्ने मान्यता थियो । महिलाहरू विस्कुन सुकाउने, गुन्द्री चकटी वुन्ने तान लगाउन र लोग्ने मानिस नाम्ला डोरी दाम्ला आदी तयार गर्ने गर्दथ्ये । अहिले सबै फुर्सदिला भएका कारण घामको खोजी गर्दै पारी गाउँ जाने गरेका उहाँले बताउनुभयो ।
त्यति मात्र कहा हो र रापिलो घाम ताप्दै हिउद पछि गरिने सामाजिक काम विवाह वर्तवन्ध एकाहा सप्ताह चारधाम पशुपतिनाथको दर्शन र विकास संग संम्वन्धित चौतारी पोखरी वाटाघाटहरू मर्मत संम्भार नया कामको थालनी ढाकर जाने नुन तेलको जोहो गर्ने अन्नपात धानका ढिकुडी जमाउने, जमाएका ढिकुडीलाई वोलकवोल गर्ने ,वनजंगल संरक्षण गर्ने कुला कुलेसा वनाउन तारतम्मे मिलाउने कामहरू हिउँदका दिनमा गरिने चलन अहिले हराउँदै गएको उहाँले बताउनुभयो ।
जाडोको समय सबैभन्दा गाह्रो यहाँका गृहिणीहरुलाई हुने गर्दछ । हिउँदको समयमा बिहानको घरधन्दा निकै कष्टकरहुने स्थानीय महिलाहरु बताउँछन् । हिउँदमा घाम नपर्दा जाडोमा सताउने बगरफाँट गाउँ वर्षाको समयमा गाउँको सिरानमा रहेको विशाल भीरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीब्र कटानका कारण पनि जोखिमपूर्ण र असुरक्षित बन्दै गएको छ ।
२०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न शुरु गरेको बगरफाँटमा रहेका २ सय घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिदै बग्ने म्याग्दी नदीको कटानबाट वर्षेनी त्रसित हुने गरेका छन् ।
म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्षेनी संरक्षणको काम हुँदै आएको छ । नदी किनारमा ग्याबिन जाली लगाएर तत्कालका लागि नियन्त्रणको काम गरिए पनि दीर्घकालीन रुपमा संरक्षणका लागि बजेट र उपयुक्त प्रविधिको प्रयोग आवश्यक रहेको स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।
“हिउँदमा घाम नपरेर सास्ती छ ,बर्खामा पहिरो र नदी कटानको त्रास पनि उत्तिकै हुन्छ” स्थानीय डिलबहादुर घिमिरेले भन्नुभयो “गाउँ जोखिममा छ,शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसंग सुत्न सकिदैन,कतिबेला के हुन्छ भन्ने त्रास सधैंभरी रहिरहन्छ” ।
म्याग्दी नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफल भन्दा बढी खेतीयोग्य जमिन नास भैसकेको र पछिल्लो समय नदी कटान नियन्त्रणको प्रयास सफल भएको स्थानीय स्थानीय वुद्धिजीवि तथा नदी नियन्त्रणका लागि वर्षौदेखि लागिपर्नु भएका म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणवहादुर कार्कीले बताउनुभयो ।
कार्कीका अनुसार बेनी नगरपालिका वडा नं ३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केहीमात्रामा भए पनि गाउँ सुरक्षित हन्छ ।
गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने हुँदा प्रदेश वा संघबाट नै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर, यसतर्फ यहाँका कुनै पनि राजनीतिक दलहरुले चासो नदेखाएकाले यो समस्या विकराल बन्दै जाँदा सदरमुकाम बेनी बजारलाई समेत प्रभाव पार्ने स्थानीय बुद्धिजीविहरुको भनाइ छ ।