प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै अक्षरश: लागू गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा उनले अब कामका आधारमा मूल्यांकन हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘म अलि उदार भएँ । मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु । पहिला तपाईँहरूले यो कुरा आत्मसात गर्नुहोला । मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला । नियमित अपडेट हुनुहोला । आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं । अरू काम पनि क्रमशः अगाडि बढ्छन् । सम्बोधन अक्षरशः पालना गरिन्छ ।’

उनले मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउने भएकाले सचेत भएर काम गर्न निर्देशन दिए ।

उनले भने, ‘नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गर्दैछौं । योजना आयोग र अर्थ मन्त्रालयले पनि यो कुरा राम्रोसँग मनन गर्नुहोला । हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ । यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला । हामीले काम गर्न सक्दैनौं भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला ।’

Leave a Reply