उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइको छ । गाउँपालिकामा रहेका ८ वटै वडामा पुगेर योजना सम्झौता गर्ने भनेर शुरु गरीएको सम्झौता गर्ने कार्य अनुरुप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर योजनाहरु सम्झौता गरेको छ ।

वडा नम्बर ८ राम्चे, ७ हिस्तान पछि वडा नम्बर १ दोवामा योजना सम्झौता भएका हुन् । त्यस पछि क्रमशः वडा नम्बर २, ३, ४ र ५ मा पनि योजना सम्झौता शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी सहितको टोली योजना सम्झौताका लागि १ नं. वडाको दोवामा पुगेका थिए ।

गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र पैसा खर्च बचत भएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका अध्यक्ष दिलिपक कुमार गर्बुजाले बताउनुभयो ।

उहाँले भन्नुभयो—‘वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गरेर घर फर्कनका लागि दुईदेखि तीन दिन सम्म लाग्ने गरेको थियो तर वडामै योजना सम्झौता गर्न पाउँदा समय र पैसाको बचत भएको छ ।’

योजना सम्झौता र बैंक खाता खोल्नका लागि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालय सम्म जान आउन गाडीभाडा, खाना, खाजालगायतको खर्च व्यक्तिगत रुपमै व्यहोर्नु पर्ने हुन्थ्यो तर गाउँमै गाउँपालिका एवम् बैंकको टोली आएर सम्झौता गर्दा समय सँगै पैसाको बचत भएको गोविन चोचाङ्गेले बताउनुभयो ।

सम्झौता गर्नका लागि गाउँपालिका जानु पर्दा कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झन्झट हुन्थ्यो तर वडामै सम्झौता गर्नकालागि गाउँपालिकाको इन्जीनियर, हाकीम अनि बैंकका कर्मचारी पनि आउदा निकै सहज भएको छ उहाँले भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, इन्जीनियर इश्वर भण्डारी एवम् बैंकका कर्मचारी सहितको टोली योजना सम्झौता शिविर लिएर वडा नम्बर १ दोवा पुगेको थियो ।

दोवामा चालु आर्थिक वर्षमा छनौट भएका योजनाहरु सम्झौता गरीएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । घोरेटोबाटो तथा रेलिङ निर्माण, भुमेथान रेलिङ तथा सिडि निर्माण, वडा कार्यालयको शौचालय निर्माण, मरका खेलमैदान मर्मत तथा ढलानलगायतको योजना सम्झौता भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीहरूलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्नुका साथै योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय व्यवस्थापन सम्बन्धी तालिम पनि दिएका हौं ।’
आठ वटै वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधीकारीहरूलाई प्रशिक्षण दिइने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा १५० वटा योजना कार्यान्वयन गर्दैछ ।तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई नै प्रत्यायोजन गरिएको र त्यो भन्दा ठूला योजनाहरु गाउँपालिकाले सम्झौता गर्ने कार्यविधि भएकोले पनि गाउँपालिकाको टोली वडामै आएर सम्झौता गरेको वडा सचिव मनकुमार गर्बुजाले बताउनुभयो ।

वडामै योजना सम्झौता गर्ने र अभिमुखिकरण गर्दा बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्युनीकरण गर्न उपभोक्ता समितिलाई सहज र सजिलो हुने अपेक्षा गरिएको उहाँको भनाई थियो ।साही शिविरको अवसरमा गरिबी पहिचान परिचयपत्र समेत बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलीजा पुनले बताउनुभयो ।

Leave a Reply