म्याग्दीको बेनी नगरपालिका-७,अग्नीखेतमा आगन चर्किएको ब्लक र जस्ताले छाएको साँघुरो र चिसो कोठाको भित्तामा सुसान र सपना किसानको रंगीन फोटो छ । श्रीमन र छोरासँगको तस्वीरमा रहेकी भित्तामा सजिएकी सपना अब भौतिकरुपमा परिवारसँग कहिल्यै सँगै हुने छैनिन् । कोठाको भित्तो रंगीन भएपनि परिवारको खुसी उडेको छ ।

ब्रेन ट्युमरको उपचारको क्रममा सपनाको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । आँखा अझै ओभाएका छैनन्, श्रीमतिका बारेमा बोल्दा आँखामा टिलपिल आँसु भरिन्छ ।ज्यालामजदुरी गरी घरखर्च चलाउँदै आएका सुसानले ९ महिनाको छोरी र २ बर्षको छोरालाई हुर्काउन धौ-धौ परेको छ ।

विहानै ज्यालामजदुरीका लागि श्रीमतिसँगै निस्कने गरेका सुसानले अहिले छोराछोरीको रेखदेख गर्नुपर्ने भएपछिघरखर्च चलाउन समेत मुस्किल छ।तीन महिनाअगाडी अचानक टाउको दुख्न थालेपछि उपचारको क्रममा क्यान्सरको अन्तिम स्टेजमा पुगेको चिकित्सकले बताएसँगै उपचारका लागि भरतपुर पुर्याएका सुसानले श्रीमतिको उपचारमा झण्डै ४ लाख खर्च गरे ।

श्रीमतिलाई गुमाएका सुसानसँग ९ महिनाको छोरीलाई दुध खुवाउने पैसा समेत छैन ।‘छोराछोरीको भविष्यबारे धेरै चिन्ता लाग्छ, दुध र बिरामी हुदाँ उपचार गर्ने पैसा समेत छैन’ सुसानले भने । श्रीमानीसँगै मजदुरी गरेर जीविका चलाइरहेकोमा अव मानसिक तनाबसँग शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको सुसानको भनाई छ ।

‘छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता छ,श्रीमतिको तस्वीर हेर्दा रुन मात्र मन लाग्छ’ सुसानले भने ।सपनालाई गुमाएपछि दुईबर्षको छोरा र ९ महिनाकी छोरीले बेला-बेलामा आमालाई खोज्दा उनी भकान्छिन् । दुई सन्तानलाई पालनपोषण, स्याहारसुसार, हेरचाहको चिन्ताले सताइरहेको छ ।

‘मैले काम नगरी यिनीहरूलाई पेटभरी खुवाउँन पाउँदैन,‘काम गर्न जाने अवस्था पनि अहिले छैन, आमालाई नदेखेपछि छोराले साथ नै छोडैन’ सुसानले भने । श्रीमतिले मृत्यु हुदाँको अन्तिम समयमा पनि छोराछोरीको चिन्ता गरेको उनले बताए ।तत्काल सहयोगको आवश्यकता रहेपनि छोराछोरीलाई मजदुरी गरेरै पाल्ने उनको भनाई छ ।

४ भाइ छुट्टिएरका छन् । सबै ज्यालामजदुरी गरी घर खर्च चलाउने भएकाले तत्काल कलिला बालबालिकालाई सहयोग आवश्यक रहेको स्थानीय हरि शाक्यले बताए ।

‘हातमुख जोड्न पनि धौ–धौ हुन्छ,‘आमाको मृत्युपछि कलिला बालबालिकाको बिचल्ली भएको छ, उनीहरुलाई सहयोगको आवश्यकता छ’ शाक्यले भने । बेनी नगरपालिका–७ वडाले मृतकको अन्त्येष्टीका लागि आवश्यक दाउरा तथा सहयोग समेत गरेको छ ।

वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले वडाबाट र सहयोग जुटाएर तत्काल राहत हस्तान्तरण गरिएको बताए । उनले मातृत्व प्रदान गरिरहेकी आमाको मृत्युपछिको अवस्थामा कलिला बालबालिकालाई नियमित पोषण सहितको सुविधाका लागि सहयोग आवश्यक रहेको बताए ।

‘हामीले सक्ने सहयोग गछौ,‘सबैको सानोसानो सहयोगले बालबालिकालाई हुर्काउन सजिलो हुन्छ’ अध्यक्ष श्रेष्ठले भने ।जन्मदिने आमासँग हुन नपाउँदाको पीडालाई महसुस हुन नदिने गरी सहयोगको आवश्यकता रहेको बताए । उनले ब्रेन ट्युमरका कारण छोराछोरीको स्वास्थ्य समेत परीक्षणका लागि लैजान आवश्यक सहयोग गरिने बताए ।

थप जानकारीका र सहयोगका लागि वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ ९८५७६४७०६७

Leave a Reply