आज गुरुङ समुदायले मनाउने तमु ल्होसार, हर्षोल्लासका साथ मनाइँदै छ। गुरुङ समुदाय नयाँ वर्षको रुपमा यो पर्व मनाउने गर्छन्।

सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता)को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भएको इतिहास छ। ड्रिगमको हत्यारा (लोङम डाजी) को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासू क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्य रूपले निम्ताएको विश्वास छ।

पछि सम्थव ङोन्पो नामक वोन्पो विनले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताको रूप दिए जसलाई क्यार वोन भनिने गरिन्छ। त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरिएको मान्यता छ। त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइने गरिन्छ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको भन्दै आज हर्षोल्लासका साथ यो पर्व मनाउने गर्छन्। प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ।

पर्वको पूर्व सन्ध्याँमा पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ।

आजको दिन बिहानैदेखि ढोग/भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्ने गर्छन्।

सरकारले आजको दिन सार्वजनिक विदा समेत दिएको छ।

Leave a Reply