म्याग्दीको मंगला गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंंगला-५,पिपलबोट कैशालफाँट नवनिर्मित खेलमैदानमा आयोजित प्रतियोगिताको आइतवार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली (सुविन) ले उद्घाटन गर्नुभएको हो ।

पालिका भित्रका १ संस्थागत र ९ वटा सामुदायिक विद्यालय गरि १० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रमा आयोजित पार्चपासमा डर्निङ आवासीय मावि बाबियाचौरले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

मंगलबार सम्म संचालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा ३० वटा इभेन्ट संचालन हुनेछन। विभिन्न संघ, संस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, वडा नम्वर १ का अध्यक्ष एकजित रोकाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

उद्घाटन लगत्तै भएको एथ्लेटिक्स विधाका खेलमा मंगला माविले ४ स्वर्ण,२ रजत र १ काँस्य सहित अग्रता लिएको छ । प्रतियोगितामा मंगलाकी रिकजना बोटेले दुई स्वर्ण जित्नुभएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । 

Leave a Reply