अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालपाको ।
त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ ।
बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा अवस्थित छ । हिमालको काखैमा रहेको मन्दिरमा बर्षेनी हजारौं भक्तजनहरू मनोकामना पूरा हुने विश्वासका साथ पुग्ने गरेका छन्।
समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।
मन्दिर आसपासका क्षेत्रबाट दृष्य अवलोकन गर्न आउने धार्मिक तथा पदयात्रामा पुग्ने पर्यटक हिमालभन्दा अग्ला देखिन्छन् । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।
मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रमा धमाधम पूर्वाधार विस्तार गरिरहेका छन ।
‘पूर्वाधार विस्तारमा प्राथमिकता दिएका छौ,‘सडक सञ्जाल र पदमार्ग सहित थप पूर्वाधार विस्तारका लागि समेत बजेट विनियोजन गरेका छौ’ मालिका गाँउपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले भने ।
उनले मालिकाधुरीलाई धार्मिकस्थलसँगै अन्य समयमा पर्यटकलाई समेत आर्कषित गर्ने गरी बास बस्ने कोठा, नियमित खानेपानी र पूजाआजाका लागि नियमित पूजारी राख्ने योजना रहेको बताए । उनले धार्मिक बाहेक पदयात्रामा रमाउने पर्यटकलाई जंगल सफारी सहित रातको समयमा सुविधाका लागि निजी क्षेत्रसँग समेत सहकार्य गरी पूर्वाधार बनाउन पालिका तयार रहेको बताए ।
उनले थप संरचना सहित पर्यटकलाई आर्कषित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अगाडी बढ्ने बताए । मालिकाधुरीमा बैशाख, जेष्ठ र कात्तिक पूर्णिमामा पूजा गरिन्छ । भक्तजनहरु मनोकामना पूरा हुने विश्वास लिएर बर्षेनी १० हजारभन्दा बढी भक्तजन मन्दिरमा पुग्छन् ।
अघिल्लो दिन मन्दिरको तल बनाइएको सत्तलमा बसेर पूज गर्न जाने भक्तजनहरु प्राकृतिक रुपमा निर्मित पहाडका ओडार र खुल्ला आकाशमा समेत रात विताएर ८० वर्ष नाघेका बृद्धबृद्धादेखि दुधे बालक काखमा च्यापेर बोकेर समेत मानिसहरु पुग्ने गरेको मालिकाधुरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।
‘धार्मिक पर्यटक सयौं आउनुहुन्छ, यहाँ अन्य सिजनमा पर्यटक ल्याउन सकेमा नमुना पर्यटकीय गन्तब्य बनाउन सकिन्छ’ अध्यक्ष पाइजाले भने ।कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ । विगत लामो समय अगाडीदेखि पुजा गरिँदै आएको भएतापनि वि.स. २०२५ मात्रै मन्दिर बनाइएको थियो ।
पछिल्लो समय स्थानीय तह, गण्डकी प्रदेश सहित आफ्नो मनोकामना पूरा भएपछि भक्तजनले समेत भौतिक संरचना बनाउन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाले प्राथमिकतामा राखेको क्षेत्र भएकाले बजेट विनियोजन सहित प्रचारप्रसारमा समेत सक्रिय रहेको बताए । उनले सडक, पदमार्ग सहित खानेपानी लगायतका पूर्वाधारमा पालिकाले बजेट विनियोजन गर्ने गरेको बताए । यता मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले हिँदी हुदै पदमार्ग बनाउने र सहज आवतजावतका लागि मंगलाभित्रका रुटहरुमा पूर्वाधार विस्तारको सोच रहेको बताए।
रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ । बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब ३ घण्टासम्म कठोर यात्रा गरेपछि मात्रै मालिका पुगिन्छ । मालिकालाई पर्यटकिय गन्तब्य बनाउनको लागि मालिका हुदै पश्चिम म्याग्दीको मुदीमा रहेको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल र गुरिल्ला पदमार्गलाई जोड्ने पदमार्गको परिकल्पना गरिएपनि काम भने भएको छैन ।