पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा मंगलबार सम्पन्न भएको चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मंगला माविकी रिकजना बोटे (माझी)ले ४ स्वर्ण र एक रजत पदक जितिन् । आइतबारदेखि मंगला-५ पिपलबोटको खेलकुद मैदानमा सुरू भएको प्रतियोगितामा १५ सय मिटर दौडमा मंगला माविलाई पहिलो स्वर्ण पदक दिलाइन् ।

एथलेथिक्सको ३ हजार, १५ मिटर, त्रिपल जम्पमा स्वर्ण र ४ इन्टु १ सयमा स्वर्ण पदक जितेकी रिकजनाले समुहगत खेलमा उत्कृष्ट लयमै रहेपनि अन्य सहभागीका कारण एक रजत पदक जितिन् । म्याग्दी जिल्लामा विद्यालयस्तरीय एथलेटिक्समा आफ्नो सशक्त पहिचान बनाउन सफल भएकी रिकजनाले मंगला मावि र जिल्लास्तरीय प्रतियोगितामा कायम गरेको रेकर्ड अहिलेसम्म तोडिएको छैन ।

गतबर्षको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा चार स्वर्ण पदक दिलाएकी रिकजनाले पालिका र जिल्लास्तरीय मात्रै नभई प्रदेशस्तरीय खेलमा समेत ३ जम्पमा स्वर्ण र ४ सय इन्टु ४ रिलेतर्फ काँस्य पदक जित्दै गण्डकी प्रदेशबाट राष्ट्रिय खेलका लागि छनौट भएकी थिइन् ।

चरम अभाव र समस्यालाई जितेर उदीयमान खेलाडी बन्न सङ्घर्षशील रिकजनाले जितेको पदकले प्रतियोगिताको अंकतालिका नै फेरिन्छ । गतबर्ष मंगलामा सम्पन्न भएको प्रतियोगितामा ६ स्वर्ण जितेकी रिकजनाको एकल दौडको लय यसपटक सुधार देखिएको मंगला माविका प्रधानध्यापक गम खत्रीले भने ।

‘रिकजनाले एथलेटिक्समा नयाँ सम्भावनाको ढोका खोलेकी छिन्,‘यसपटक जिल्लामा हुने प्रतियोगितामा एथलेटिक्स क्षेत्रमा नयाँ तरङ्ग आउने छ‘ प्रअ खत्रीले भने । एथलेटिक्स विधामा अलराउन्ड रिकजना यसपटक पनि मंगला गाउँपालिकामा छात्रातर्फ सवोत्कृष्ट खेलाडीबाट सम्मानित भइन् ।विपन्न परिवारमा जन्मिएकी रिकजनालाई मंगला ५ पुलचोकमा भवानी बुढाथोकीले संरक्षण गरेकी छन् ।

रिकजनको खेल प्रतिभालाई अगाडी बढाउन धवलागरी गाउँपालिका वडा नं १ गुर्जा घर भई हाल अमेरिकामा बस्ने अम्मर छन्त्यालले बार्षिक २५ हजार सहयोग समेत घोषणा गरी पहिलो बर्षको सहयोग विद्यालयमै कार्यक्रम गरी बेनीअनलाइनमार्फत हस्तान्तरण गरेका छन् ।

दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि समान्य अभ्यासबाटै एथलेटिक्समा खुड्किला उक्लिँदै गरेकी रिकजनाको खेल प्रतिभालाई गाउँपालिकाले समेत प्राथमिकता दिने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।

हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर चकित पार्ने गरेकी रिकजना सहित सम्भावना भएका खेलाडीलाई जिल्लास्तरीय र प्रदेशस्तरमा हुने खेलमा समेत प्रोत्साहन गरिने गाउँपालिकाले जनाएको छ ।यसैबीच मंगला माविकै मिलन थापाले चार स्वर्ण जिते ।

कक्षा १२ मा अध्ययनरत थापाले ४ सय मिटर, ४ इन्टु १ सय, २ सय मिटर र ४ इन्टु ४ सय मिटरमा स्वर्ण पदक जितेको मंगला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताए ।उनले मंगलाबाट छनौट भएका रिकजना र मिलनले आगामी पुस २० र २१ गते हुने ९ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा समेत उत्कृष्ट नतिजा ल्याउने बताए ।

Leave a Reply