भनिन्छ– नमच्चिने पिङको सय झड्का । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चलाई ‘मिनी रंगशाला’ बनाउने सपनाले यही नियत्ति झेल्नु परेको छ । अहिलेसम्म निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिले अहिलेसम्म भाषणमा संरचनाको चासो देखाउँछन्, व्यवहारमा त्यस्तो पटक्कै देखिँदैन ।
‘मिनी रंगशाला’ बनाउने घोषण र अहिलेको बजेटको अवस्था हेर्दा खेलप्रेमीलाई झुक्याइरहेका छन् । सरकारी संघसंस्था र निजी क्षेत्रबाट आयोजना हुने हरेक कार्यक्रममा भाषणमा करोडौं बजेट भित्राउने सपना बाँडिरहेका छन् ।
मिनी रंगशालाको अवधारणा अनुसार नगरपालिकाले तयार गरेको डिपिआर अनुसारको बजेट माग गर्दा गएको ५ बर्ष यता गण्डकी र संघीय सरकारबाट बजेट विनियोजन भएको छैन्। भुक्ने कुकुरले टोक्दैन भनेजस्तै खुल्लामञ्चमा एकबर्षमै रंगशाला बनाउँछु भन्नेहरू अहिले अनेक बाहना बनाउन थालेका छन् ।
आर्थिक मन्दी, ग्रामिण क्षेत्रको खेलकुद मैदानमा बजेट विनियोजन जस्ता तर्क दिएर पन्छिएपनि निर्वाचित जनप्रतिनिधिको पहुँच नपुग्दा नेपाली उखान–आकाशको फल आँखा तरी मर भनेजस्तै म्याग्देलीलाई मिनी रंगशाला’ खेल खेल्ने र अवलोकन गर्ने यो उखान चरितार्थ भएको छ । खुल्लामञ्च बनाउन सुरू भएको २९ बर्षसम्म पनि गतिलो खेलमैदान नहुदाँको पीडा खेलाडी, खेलप्रेमी दर्शक र आयोजकलाई मात्रै चसक्क दुख्ने गरेको छ ।
पछिल्लो डेढदशक यता निर्वाचित सांसदले विनियोजन गर्ने बजेट ग्रामिण क्षेत्रका सामान्य खेलमैदानमा राजनीतिक प्रभाव हेरेर खन्याउने गरेपनि खुल्लामञ्चको पूर्वाधार विस्तारमा आँखा चिम्लिएका छन् ।अव्यवस्थित मैदानका कारण फुटबलका फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको मापदण्ड नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेको छ ।
मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारको काम बजेट अभावका कारण गति लिन नसकेपछि बेनी नगरले २० लाख बजेट बिनियोजन गरेको छ । मिनी रंगशालाका लागि करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।
कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११–११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउन अहिलेकै अवस्थामा बजेट विनियोजन भए अझै एकदशक लाग्ने देखिन्छ ।
खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने गण्डकी प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भए करिब २ बर्षमै मिनी रंगशाला तयार हुन्छ । अहिले नगरपालिकाको कनिका छर्किएजस्तै विनियोजित बजेटबाट म्याग्दी नदी र कालीगण्डकी किनारतर्फ प्याराफिट बनाउने काम भइरहेको छ ।
कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित खेल मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ८ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट १ लाख रूपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।
खेलमैदान सुधारको अभियान सुरू भएको २९ बर्षसम्म पनि सदरमुकाम बेनीको एउटा खेलमैदान बनाउन म्याग्दीबाट निर्वाचित भएर गएका सांसदहरू असफल भएका छन् ।
सदरमुकाम बेनीबजारमा ‘मिनी रंगशाला’ बनाउने अभियान निर्वाचित संघीय र प्रदेश सांसदको सक्रियता अति आवश्यक छ । ठूला गफ गरेर मात्रै अव म्याग्दीका अधुरा योजनाहरूले पूर्णता पाउँदैन । खुल्लामञ्चको संरचनाको अवस्था र खेलप्रेमीको चाहना पूरा गर्न बेलैम जनप्रतिनिधिको चेत खुलोस् ।
बेनी साप्ताहिक समाचारपत्रबाट साभार