म्याग्दीको सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं खेलकुदका प्रतिभालाई स्थानीय तहले उच्च प्राथमिकता दिएर प्रशिक्षण सहितका अवसर दिनुपर्ने बताए ।

जिल्लाबाट भलिबल, कराँते लगायतका खेलमा राष्ट्रिय पहिचान बनाउन सफल खेलाडीहरु उत्पादन भएको बताउँदै प्रमुख अतिथि थापाले नयाँ खेलाडीले समेत सिक्दै जान सक्नेमा जोड दिए । उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य राखेका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षता, सदस्य प्रविण शाहीको सञ्चालनमा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाब पुर्जाले रजत र बेनी नगरपालिकाका इश्वर न्यौपानेले कास्य पदक जिते भने छात्रातर्फ रघुगंगाका कञ्चन भण्डारीले स्वर्ण, सोनिया खड्काले रजत र धौलागिरि गाउँपालिकाका अञ्जना विकले कास्य पदक हात पारिन् ।

पदक विजेतालाई जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी ढकाल, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रहरी नायब उपरिक्षक मदन कुँवर,र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते र एथ्लेटिक्समा विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट खेलाडी सहित ब्यवस्थापकीय टिमको सहाभागीता रहेको छ ।

प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ । आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी हुने छन् । स्वर्ण पदक विजेतालाई मात्रै जिल्लाबाट छनौट गरी पठाइने छ ।

Leave a Reply