राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र कराँतेका खेलाडी मार्शल गर्बुजालाई जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ। म्याग्दीको सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नगद ५ हजार, सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी शाहीले महिला टोलीको कप्तानी गरेपछि पहिलोपटक २ दशकपछि नेपालले अन्तराष्ट्रिय उपाधी जितेको थियो भने भलिबलमा समेत नेपाली महिला टोलीको खेलमा सुधार आएको थियो ।

अरुणा तत्कालिन बिरेन्द्रशिल्ड रनिङ खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरी भलिबलमा उदायकी खेलाडी हुन भने रघुगंगा–४ दर्मिजाका गर्बुजा मार्सल आर्ट विधाको कराँतेमा हालै सम्पन्न भएको सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमास्वर्ण पदक बिजेता हुन् । उनले ५५ केजीमा पाकिस्तानका उस्मान सफिक लाई ७–५ मा पाखा लगाउँदै उपाधी जितेका थिए ।

विगत ८ बर्षदेखि कराँते खेलमा सक्रिय रहेका गर्बुजाले जिल्लास्तरीय, प्रदेशस्तरीय खेलमा दर्जनभन्दा बढी स्वर्ण पदक जितेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पहिचान बनाएका खेलाडीलाई सम्मान गरिने बताए । उनले जिल्लास्तरमा सम्भावना भएका खेलाडीको संरक्षण तथा अवसरका लागि समेत निरन्तर काम गरेको बताए ।

Leave a Reply