नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको १०औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते सदरमुकाम बेनीमा हुने भएको छ । जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको एमाले म्याग्दीले जनाएको छ।

शुक्रवार एमाले पार्टी कार्यालय हाँडेभीरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले आसन्न अधिवेशनको बारेमा जानकारी गराउनुभयो ।

उहाँले अधिवेशनमा वडागत, जनसङ्गठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४ सय १९ जना प्रतिनिधिहरुले सहभागिता जनाउने बताउंदै म्याग्दीमा एमालेका ३ हजार ४ सयजना पार्टी सदस्यहरु रहेको जानकारी दिनुभयो ।अधिवेशनमा अन्य क्षेत्रबाट २०, महिला १५ र दलित १० जना पार्टी सदस्य अर्थात् सङ्गठित सदस्यहरु बराबर एकजना प्रतिनिधि छनोट हुने एमालेको विधानमा व्यवस्था रहेको छ ।

यसैगरी आवश्यकताअनुसार ५ प्रतिशत अर्थात् १२ जना प्रतिनिधिहरु मनोनित गर्ने सकिने व्यवस्था समेत रहेको छ । मनोनित भएमा थपिएकासहित कुल ४ सय ३१ जना प्रतिनिधिहरु अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन पाउने छन्। जिल्ला अधिवेशनको लागि आउँदो माघ ५ गतेभित्र प्रतिनिधिहरु छनौट गरेर सिफारिस गर्न वडा कमिटीलाई परिपत्र गरिएको एमाले अध्यक्ष केसीले बताउनुभयो ।

४५ वटा वडाबाट वडागत रुपमा २ सय ४० जना प्रतिनिधिहरु अधिवेशनमा भाग लिन आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । पत्रकार सम्मेलनमा अधिवेशनका लागि तयार पारिएको नारासहितको लोगो समेत सार्वजनिक गरिएको थियो ।

१०औं अधिवेशनको लागि “दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौ, जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ । अधिवेशन सफल बनाउन विभिन्न ७ वटा उपसमितिहरु गठन गरेर तयारीलाई अगाडि बढाइएको एमाले म्याग्दीले जानकारी दिएको छ ।

अधिवेशनको उद्घाटन गर्ने प्रमुख अतिथिको टुङ्गो लागेपछि कार्यक्रमस्थलको समेत टुङ्गो लाग्ने जनाइएको छ । पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका उपसचिव एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक थमसरा पुन लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply