‘व्यवसाय संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन आज (शनिवार) म्याग्दीको बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनले शाखाको जिल्ला अध्यक्षमा नारायण शर्मा, उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा शान्ति पौडेल आचार्य र सहसचिवमा रामु रिजाललाई चयन गरेको छ ।
यसैगरी शाखाको कार्यसमिति सदस्यहरुमा लक्ष्मीप्रसाद सुवेदी, पुष्पा गौतम, लोकानाथ उपाध्याय, विष्णु थापा, नारायणप्रसाद पौडेल र गोविन्द आचार्य चयन भएका छन् । 
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सम्बन्ध सबैसँग रहेको भएकाले यो सम्मानित पेशा तथा व्यवसाय भएको बताए।
उनले म्याग्दी जिल्लाभर कुल २ सय ५६ वटा विद्यालयहरु सञ्चालनमा रहेको ती विद्यालयहरुमा ३३ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै पुस्तक व्यवसायी महासंघले प्रकाशित सबै पाठ्यपुस्तकहरु सहज र व्यवस्थित तरिकाले बिक्री वितरणको वातावरण मिलाउनुपर्ने बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतमले विगतमा १७ पटकसम्म पुगेर पाठ्यपुस्तकहरु ल्याएर वितरण गरिएको स्मरण गराउँदै अहिले एकैपटकमा सबै सेट पुस्तकहरु ल्याएर समयमा नै विद्यालय र विद्यार्थीहरुलाई उपलब्ध गराइएको बताए ।
महासंघ प्रदेशको पहलमा पुस्तक व्यवसायीलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै गण्डकी प्रदेशमा व्यवसायी हितकोष स्थापना गरिएको जानकारी दिए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले अहिलेको अवस्थामा देश सङ्घीयतामा गएको भए पनि अझै उद्योगमैत्री वातावरण बन्न नसकेको बताउँदै जिल्लाको शैक्षिक क्षेत्रको विकासमा पुस्तक व्यवसायी महासंघको भूमिका महत्वपूर्ण रहेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले जिल्लामा सञ्चालित सबै विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पु¥याउने कार्यमा महासंघसँग समन्वय र सहकार्य गरिएको बताए । उनले  पछिल्लो समय म्याग्दीमा विद्यार्थीहरुको सङ्ख्या घट्दै गैरहेको समेत बताएका थिए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश पौडेल, म्याग्दीका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष ठाकुरप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्याब्सन म्याग्दीका अध्यक्ष हिराबहादुर पुन, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेल र कपडा तथा फेन्सी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष रामप्रसाद सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त साधारणसभा तथा अधिवेशनमा महासंघका निवर्तमान सचिव नारायण शर्मा र कोषाध्यक्ष ध्रुवराज सुवेदीले क्रमशः प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष नवराज पौडेलको अध्यक्षता, सचिव शर्माको सञ्चालन र उपाध्यक्ष भीमबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply