म्याग्दीमा आलु खेतीमा डढुवा रोगको प्रकोप देखिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाईएको आलुमा डढुवाको प्रकोप देखिएको हो । डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन् । कार्तिक महिनामा लगाईएको आलुमा पुस महिनामै डढुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

व्यवसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका,मालिका र रघुगंगा र मंगला गाउँपालिकाका किसानको आलु डढुवाले सखाप पारेको कृषि प्राविधिकहरुले बताएका छन् ।

अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो । चिसो मौसम सुरुवता भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगंगा गाउँपालिका ६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डढुवाको संक्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताउनुभयो

खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोक किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकहरुको भनाइरहेको छ । म्याग्दीमा व्यवसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउँमा अनुदान पाई किसानले करिव एक हजार कुन्टल आलुको बिउँ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

पछौटे डडुवा आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग भएको कृषि प्राविधक वानियाँले बताउनुभयो । उहाँका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ । पहाडी जिल्लाहरुमा पनि वर्षेनी यो रोगको प्रकोप बढीरहेको छ भने तराइका जिल्लामा महामारीको रुपमा फैली सकेको छ ।

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिने कृषि प्राविधिक बानियाँले बताउनुभयो । अनुकुलन वातावरण पाईरहेमा थोप्लाहरुको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ ।

ओसिलो वातावरणमा ढुसिको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने उहाँ बताउनुहुन्छ ।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीहरु मध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाती नेपालमा पाईएका छन् । यस रोगको अनुकुल विकासको लागि बायुमण्डलको सापेक्षिक आद्रता ८०.९५५ र रातिको तापक्रम १०.१२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बिउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाई छ ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घन्टासम्म बिउँलाई भिजाएर छाँयामा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर २–३ रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकुल हुने संकेत देखिने बित्तिकै कपरअक्सिक्लोराइड २ ग्राम १ लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोटहरु तुरुन्तै हटाइ दिने सुझाव कृषि विशेषज्ञहरुको रहेको छ ।

Leave a Reply