म्याग्दीको मालिका गाउँपालिका ६ की रोशनी पुन केवि एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिनुहुन्छ ।
पुन जस्तै २० देखि ३० बर्ष हाराहारीको उमेरका महिलाहरु विहान र बेलुकीको फुर्सदको समय फुटबल खेल्ने गर्नुहुन्छ । भौगोलिक विकटता भएपनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको क्रेज दिनप्रतिदिन बढ्दो क्रममा छ ।

यही पुस पहिलो साता दरबाङमा सम्पन्न सातौं करविर कप प्रतियोगिताको मुख्य आकर्षण नै महिला फुटबल बनेको स्थानीय अगुवा हिराबहादुर पुनले बताउनुभयो ।

दरबाङ स्थित पुरानो जनप्रिय खेल मैदान युवा पुस्ताको लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाहरुको लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । यो खेल मैदानमा विहान र बेलुकी फुटबल खेल्ने महिला र पुरुषहरुको जहिले पनि भीड लाग्ने गरेको स्थानीय खेल प्रशिक्षक तेन्जिङ लामाले बताउनुभयो ।

खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिका देखि युवापुस्ताका लागि जनप्रियको पुरानो खेलमैदान र केवि एकेडेमीको खेलमैदान उपयुक्त स्थान बनेका उहाँको भनाइरहेको छ ।

त्यसै गरी मालिका,मंगला र धवलागिरि गाउँपालिकाका महिलाहरु पनि पछिल्लो समय फुटबल खेलप्रति आकर्षित भएका छन् । “शहरका महिलाहरु जीम जाने,मर्निङ वाक गर्ने गर्दछन् भने हामी गाउँका महिलाहरु कामबाट फुर्सद मिलेको समय मैदानमा भेला भएर फुटबल खेलेर रमाइलो गर्ने गर्दछौं” मालिका गाउँपालिका २ की ललिता विकले भन्नुभयो ।

हिउँदका ६ महिना जिल्लाका ग्रामीण भेगहरु मेला र पर्वमय हुने गर्दछन् । विद्यालय,युवा क्लव,आमा समूह,स्थानीय निकाय लगाएत विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने यस्ता मेला र पर्वहरुमा स्थानीय महिलाहरुको सहभागिता र उपस्थिति पुरुषको तुलनामा बढी हुने गर्दछ । यस्तै मेला पर्वहरुको अवसरमा यहाँका महिलाहरु पनि विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाउँदै प्रतिष्पर्धा गर्ने गरेका धवलागिरि गाउँपालिकाका अगुवा युवा नगेन्द्र मल्लले बताउनुभयो ।

“दरबाङको केवि एकेडेमीमा आयोजित महिला फुटबल प्रतियोगिता हेर्न लायकको थियो” उहाँले भन्नुभयो “फुटबलप्रति महिलाहरुको आकर्षण कति रहेछ भन्ने बुझ्न त्यही एउटा प्रतियोगिता नै काफी छ । यस्तै प्रतियोगिताहरु पश्चिम म्याग्दीका अरु ठाउँहरुमा पनि हुने गरेका छन् । ती ठाउँहरुमा पनि फुटबलप्रेमी महिलाहरुको संख्या बाख्लो देखिन्छ ।”

जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय खेलकुद र त्यसमा पनि फुटबल र भलिबलप्रति म्याग्दीका ग्रामीण महिलाहरु निकै आकर्षित भएका बताउनुभयो । “घरको कामबाट फुर्सद निकालेर महिलाहरु मैदानसम्म आइ फुटबल खेल्ने गरेका छन्” उहाँले भन्नुभयो “यो राम्रो पक्ष हो, एकातिर शारिरिक तन्दुरुस्ती कायम गर्न सघाउ पुग्छ भने अर्कोतिर फाल्तुकामहरुमा ध्यान पनि जाँदैन ।”

फुटबल भन्दा फुटसल सजिलो

यहाँका महिलाहरुले फुटबल भन्दा फुटसल खेलमा बढी रुचि देखाउन थालेका छन् । “फुटबल पहिलाबाटै खेल्दै आएको हो । तर,हामीलाई फुटबलभन्दा फुटसल निकै सजिलो लाग्ने गर्छ” फुटबल खेलाडी मनिका रोकाले भन्नुभयो “फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्। फुटबलमा ११ खेलाडी उत्रन्छन्। फुटसलमा ५ खेलाडी भिड्छन् । फुटबल खेल ४५–४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ । फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ । त्यसैले हामीलाई यही सजिलो हुन्छ ।”

फुटसल बल कम उफ्रन्छ र आकार पनि सानो हुन्छ । फुटबलको प्रत्येक खेलमा सामान्यतया तीन खेलाडी मात्र परिवर्तन गर्न पाइन्छ तर फुटसलमा खेलाडी परिवर्तन गर्न छेकबार छैन । फुटबलमा मैदानबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक हानिन्छ ।

 

Leave a Reply