म्याग्दीको बेनी नगरपालिका-३ मरेक र बालम गाउँमा यसबर्ष करिब ८० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। मरेक र बालमका २१ कृषकले ७० हजारदेखि १२ लाख बराबरको सुन्तला उत्पादन गरेका छन् । पछिल्लो समय सुन्तलाको पकेट क्षेत्र बनेको मरेक र बालम क्षेत्रमा फलेको सुन्तला खरिद गर्न ब्यापारी बगैचामै आउन थालेपछि कृषक उत्साहित छन् ।

परम्परागत खेतीबाली लगाउन छाडेर करिब दुईदशक देखि सुन्तला खेतीमा आर्कषित कृषकको सुन्तला खेती यतिखेर गाउँको प्रमुख आम्दानीको स्रोत बनेको छ।  बर्षेनी ५० लाख सुन्तलाबाट गाउँमा भित्राउने गरेका कृषकले यसबर्ष नयाँ बोटले फल दिएपछि आम्दानी बढेको अगुवा कृषक बिरबहादुर थापाले बताउनुभयो ।

 

‘यहाँका सबै घरधुरीले सुन्तला लगाएका छन्, बाँझो जमिनमा अहिले सुन्तलाका बोट देखिन्छ’ कृषक थापाले भन्नुभयो। केहीबर्ष अगाडीसम्म परम्परागत खेतीमा रमाउने कृषकले समेत अहिले खेतबारीलाई सुन्तला बगैंचा बनाएपछि बर्षेनी आम्दानी बढेको छ ।

मरेकी कर्णकुमारी पूर्जा पुनले ११ लाख, पदमबहादुर खत्री ८ लाख, जमुना थापा क्षत्री ७ लाख, दिलबहादुर थापा क्षत्री ६ लाख, बिरबहादुर थापा क्षत्री ४ लाख, कर्णबहादुर सुबेदी ३ लाख, इन्द्रबहादुर थापा क्षत्री ३ लाख, पदमबहादुर थापा क्षत्री ३ लाख लगायत मरेक र बालमका २१ घरधुरीले बगैंचाबाटै सुन्तला बिक्री गरेका छन् । मरेमा पुरुषले भन्दा एकल महिला कर्णकुमारी र जमुना थापाले हरेक बर्ष धेरै सुन्तलाबाट आम्दानी गर्ने गर्नुभएको छ ।

ब्यापारीले बगैचामै ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला ८० रुपैयाँ र ‘सी’ ६० रुपैयाँ ब्यापारीले गाउँमै मूल्य दिएर ढुवानी गरेका छन् । बेनी नगरपाालिकाको बास्कुना हँुदै सडक सञ्जालले गाउँमा सडक विस्तार भएपछि ढुवानीको समस्या छैन् ।

परम्परागत खेतीबाट हातमुख जोड्न समेत धौधौ हुने अवस्थामा सुन्तला खेतीले पाँचगुणा बढी फाइदा भएपछि स्थानीयले नर्सरी नै स्थापना गरी खाली जमिन, पाखो र खरबारीमा समेत सुन्तला विस्तार गरेका छन् ।

मरेकबासीले सुन्तला खेतीका लागि सिचाई र पानी संकलन समेत गरी बर्षेनी सुन्तला खेतीलाई नै समय दिने गरेको स्थानीय कृषक इन्द्रबहादुर थापाले बताउनुभयो । मरेक र बालमको सुन्तला बगैचामा जान वडा कार्यालयले पदमार्ग समेत निर्माण गरेको छ । स्थानीयबासीले पक्की र नमुना पदमार्गका लागि श्रमदान समेत गरेका छन् ।

 

Leave a Reply