सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको विशाल गुप्रको भिजी फाउण्डेशनले म्याग्दीकी दृष्टिविहिन सुस्मिता बिकलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ । छोराछोरी र आफ्नो जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गदैं खर्च जुटाउने गरेकी धवलागिरी गाउँपालिका–७,ताकमकी सुस्मितालाई फाउण्डेशनले कम्बल, खाद्यान्न, ट्याक सहित करिब ५० हजार बराबरको सहयोग गरेको हो ।
सुस्मिताको समस्याका बारेमा बेनीअनलाइन र नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि भिजी फाउण्डेशनले एनआइसी एशिया बैंकको बेनी शाखाका प्रबन्धक प्रकाश बहादुर आले, कर्जा शाखाका बिनोद सापकोटा र अप्रेसन इन्चार्ज सन्तोष ढकालले बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेका थिए ।शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा सक्रिय रहेको भिजी फाउण्डेशनले भोकभोकै गीत गाएर परिवारको गुजारा चलाउने गरेकी सुस्मितालाई सहयोग गरेको संयोजनकर्ता सन्तोष ढकालले बताए ।
सोही अवसरमा सुस्मिताले करिब २७ हजार बराबरको खाद्यान्न साम्रागी, लत्ताकपडा र कम्बल प्राप्त गरेपछि धेरै राहत भएको बताएकी थिइन् । यसअगाडी सुस्मितालाई गीत गाउन प्रयोग हुने लाउड स्पिकर रघुगंगा गाउँपालिका–१ बेग ढक्कीघरे हाल यूकेका रहेका नक्कु पूजा, धर्मपत्नी तारा पूर्जाले २५ हजार बराबरको खरिद गरी सहयोग गरेका थिए ।
गीत गाएरै जीविकोपार्जनका लागि आर्थिक जोहो गर्न दृष्टिविहिन कलाकार सुस्मितालाई अहिले धेरै सहज भएको छ । दुःखीलाई नै दुःखले लखेट्छ भन्ने उदाहरण बनेकी सुस्मिता बिरामी हुदाँ समेत भोकभोकै गीत गाउने गरेकोमा अहिले विभिन्न क्षेत्रबाट प्राप्त भएको सहयोगले सहज भएको बताएकी थिइन् ।
यसैबीच बेनीबजारमा नगरपालिकाको फोहोर संकलन गर्ने तथा अर्काको घरमा मजदुरी गर्ने जुना दमाई र मनकुमारी सुनारलाई समेत विभिन्न क्षेत्रबाट प्राप्त सहयोग सोही अवसरमा हस्तान्तरण गरिएको थियो । जुना र मनकुमारीकी छोरी विद्यालयस्तरमा हुने एथलेटिक्स खेलमा स्वर्ण पदक विजेता समेत हुन् ।