बेनीकी सोनिया किसान नृत्य क्षेत्रमा उदाउँदी बालिका हुनुहुन्छ । सदरमुकामस्थित बेनी सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सोनिया नृत्यका साथै पढाइमा पनि अब्बल र अनुशासित विद्यार्थी हो । सानै उमेरदेखि नाच्न रुचि राख्ने सोनियालाई मौलिक लोकसङ्गीत मन पर्छ । मौलिक पोसाकमा सजिएर कम्मर मर्काइ मर्काइ नाच्न सोनिया पोख्त हुनुहुन्छ । सानै उमेरमा नृत्य कौशलले भरिपूर्ण  १५ वर्षीय सोनिया नाच्नमा अब्बल छिन् । कक्षा ४ देखि नै विद्यालयमा आयोजना हुने लोकनृत्य कार्यक्रममा भाग लिन थालेपछि अहिले नृत्यमा विद्यालयमै अब्बल विद्यार्थी हुनुहुन्छ ।

बेनीमा आयोजना हुने साङ्गीतिक कार्यक्रममा उहाँ नेपाली पोसाक गुन्युचोलीमा चिटिक्क सजिएर पुग्ने गर्नुहुन्छ । मौलिक पोसाकमा सजिएर कौडा, सालैजो र लोकगीतमा नाच्न मनपराउने सोनिया बेनीमा आयोजना हुने विद्यालयस्तरीय नृत्य प्रतियोगितामा भाग लिन छुटाउनु हुन्न ।

म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जेसिजले आयोजना गरेको नृत्य प्रतियोगितामा पहिलो पटकमा नै भाग लिएर उत्कृष्ट पुरस्कार पाउँदा हौसला मिलेको सोनियाले अनुभव सुनाउनुभयो । अभिभावकको प्रेरणाबाट नृत्य कला सिकेको बताउने सोनिया जुनसुकै गीतमा पनि नाच्न सक्ने बताउनुहुन्छ । “कतै नृत्यको कार्यक्रम छ भने मलाई जाऊ जाऊ लाग्छ ।

नृत्यमा मैले भविष्य देखेकी छु । पढाइका साथै नृत्यलाई अगाडि बढाउने सोच बनाएकी छु,” उहाँले भन्नुभयो । बाबा रविन र आमा सुस्मिता किसानको जेठो छोरी सोनिया नृत्य कलाले अनुशासित र लगनशील बनाउने बताउनुहुन्छ । नृत्य कला मानिसको जीवनका लागि नभई नहुने कला रहेछ उहाँले भन्नुभयो, “यसले हामी जस्ता बालबालिकालाई सामाजिक, अनुशासित, परिश्रमी र पढाइमा लगनशील बनाउने रहेछ ।’’

४ कक्षादेखि नै नृत्यमा अब्बल विद्यार्थी सोनिया जिल्लास्तरमा आयोजना हुने प्रतियोगितामा पनि पहिला हुने गर्छिन् । म अभिभावकको प्रेरणाबाट सानैदेखि नाच्न थालेँ सोनियाले भन्नुभयो, “कसैले सिकाउनेभन्दा पनि प्राक्टिस गर्दा गर्दै नाच्न जानँे । अहिले जुनसुकै गीतमा पनि राम्रोसँग नृत्य गर्न सक्ने भएको छु ।’’ जुनसकुै गीत बज्यो भने पनि कसरी नाच्नु पर्दछ मलाई थाहा भइहाल्छ सोनियाले भन्नुभयो ।  प्रस्तुति : ठाकुरप्रसाद आचार्य   

Source: gorkhapatraonline.com

Leave a Reply