म्याग्दीका विद्यालयस्तरका उत्कृष्ट भलिबल खेलाडीलाई सामुदायिक तथा संस्थागत विद्यालयले उच्च शिक्षामा लाग्ने सम्पूर्ण खर्च निःशुल्क गर्ने भएका छन् । जिल्ला भलिबल संघ म्याग्दीले यसबर्षदेखि नियमित हरेक बर्ष विद्यालयस्तरीय शिक्षक–शिक्षिका भलिबलको आयोजना गर्ने भएपछि विद्यालयबाट उत्कृष्ट छनौट भएका खेलाडीलाई संघकै सिफारिसमा उच्च शिक्षामा निशुल्क पठनपाठनको सुविधा दिने भएको हो ।

भलिबल संघले प्रतियोगिता मात्रै नभई भलिबलका प्रतिभाको पहिचान तथा नियमित अभ्यास सहितका प्रोत्साहनका कार्यहरुलाई समेत निरन्तरता दिने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उनले विद्यालय उमेरबाटै खेलाडीको पहिचान र आवश्यकता अनुसार सहयोग गर्न सकेमा मात्रै भविस्यमा राम्रो खेलाडीको उत्पादन गर्न सकिने बताए ।

उनले संघमार्फत पहिलो चरणमा सदरमुकाम बेनीका पाँच विदयालयमा छात्र २ जना र छात्रा २ जनाका दरले उत्कृष्ट भलिबल खेलाडीहरुलाई भर्ना र मासिक शुल्क सहितका अन्य शुल्क समेत मिनाह गरी पूर्ण छात्रबृद्धि सुविधा प्रदान गर्न अनुरोध पत्र समेत बुझाएको छ ।

संघका अनुसार अनुरोधपत्र बुझ्दै विद्यालयका प्रअले उक्त प्रस्तावलाई सहजै स्वीकार गरेको बताइएको छ । संघले बेनी सामुदायिक ,प्रकाश मावि,न्यु वेष्ट प्वाईन्ट आवसीय मावि,म्याग्दी बहुमुखी क्याम्पस,माउण्ट एभेरेष्ट आवसिय माविमा सुविधाका लागि पहिलो चरणमा भएको छलफल सकारात्मक भएको र आगामी शैक्षिक सत्रबाट लागु हुने बताइएको छ । पाँच विदयालयमा २० जना खेलाडीले छात्रवृ्ती पाउनेछन् ।

जिल्ला बाहिर पढ्न जाने विद्यार्थीलाई समेत जिल्लामै रहेर शिक्षासँगै खेलकुदजन्य गतिविधिमा प्रोत्साहन गर्ने भलिबल संघले जनाएको छ ।

Leave a Reply