घरआगन नै ढाकिने गरी सुन्तलाको बोट । बारीका डिलमा फलेका सुन्तलाका लटरम्म दाना । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी कर्णकुमारी पुर्जा पुनको घरको आगनबाट जता हेर्यो, उतै लटरम्म सुन्तला ।

कुनैसमय आर्थिक संकटले गुज्रिएको अवस्थामा घरव्यवहार टार्न सुन्तला रोपेकी कर्णकुमारीको बगैचा अहिले सुनजस्तै पहेँलपूर छ । अहिले एकल महिला कर्णकुमारीले सुन्तलाबाट घरखर्च मात्रै चलाएकी छैनन् ।

बार्षिक ११ लाखसम्मको सुन्तला बेचेर लाखपति भएकी छन् । परम्परागत खेतीबाली लगाउन छाडेर करिब १८ बर्ष अगाडी २ सय बोट बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर १६ सय कमाइन् ।

दोस्रोबर्ष ३५ सयको सुन्तला बेचेर थप बिरुवा खरिद गरेकी कर्णकुमारीले ८ रोपनी क्षेत्रफलमा सुन्तला बगैचा फैलिएको छ । कुनैबर्ष रोगले सुन्तला सखाप हुदाँ निराश भएपनि हरेस नखाएकी कर्णकुमारीले यस वर्ष ११ लाखको सुन्तला फलाइन् ।

गतबर्ष ९ लाख ७२ हजारको सुन्तला बिक्री गरेकी एकल महिला कर्णकुमारीको बगैंचाको बोटमै ब्यापारीले खरिद गर्छन् । बेनी नगरपालिका–३ भकिम्लीमा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने कृषकमा पर्ने कर्णकुमारीले सुन्तला बेचेर घरखर्च,छोरीहरूको शिक्षादिक्षा,विवाह लगायतका घरायसी खर्चसँगै बचत समेत गरेकी छन् ।

बि.स २०६७ साल चैत्र महिनामा आंतकारीको आक्रमणबाट अफगानिस्तानमा रहेका श्रीमानलाई गुमाएकी कर्णकुमारीले सुन्तलाको कमाइले घरखर्च चलाउन सहज भएको बताईन् । सन्तानलाई जस्तै मायाँ गरी हुर्काएका बोटको अम्दानीबाट सन्तुष्ट कर्णकुमारीले सुन्तलाको रेखदेखका गर्दागदै धेरै रात बगैचामै विताएकी छन् ।

घरआगन, पाखामा लटरम्म सुन्तला फल्न थालेपछि अहिले घरखर्च चलाउन कुनै समस्या नभएको बताईन् । श्रीमानको रोजगारीको सिलसिलामा निधन भएपछि घरखर्चका लागि सुन्तलाको कमाइले सहज भएको कर्णकुृमारीको भनाई छ । बाँच्ने आधार नै सुुन्तलाको कमाई हो, दुई छोरीलाई पनि यहीबाट सहयोग गर्ने गरेको कर्णकुमारीको भनाई छ ।

सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान, छोराछोरीमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफुल र तरकारी खेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ। मरेकका अगुवा कृषक पदमबहादुर खत्रीले कर्णकुमारीले पुरुषले भन्दा धेरै सुन्तलाबाट कमाउने गरेको बताए ।

बाहिरी जिल्लाबाट आएका ब्यापारीले स्थानीय कृषकको बगैंचामा पुगेर टिप्न,बोक्न, ग्रेडिङ गर्न र क्यारेटमा मिलाएर बजारमा लैजादाँ पहिलो रोजाईमा कर्णकुमारीको बगैंचा पर्छ । मरेक र बालम गाउँबाट यसबर्ष करिब ७० लाख बराबरको सुन्तला फलेको अनुमान गरिएकोमा कर्णकुमारीसँगै अर्की एकल महिला जमुना थापा क्षत्रीले समेत ९ लाखको सुन्तला फलाएकी छन् ।

Leave a Reply