पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’, ‘नेपाल एकीकरणकर्ता’, ‘राष्ट्रिय एकताको प्रतीक’ मान्ने राजावादीदेखि कांग्रेस र कम्युनिस्टहरुसम्म पनि त्यस उत्सवमा सामेल भएको हामी देख्न सक्छौं । अर्कातर्फ पृथ्वीनारायण शाहको उपनिवेशवादी हर्कतले प्रताडित नेपालका मूलवासी, आदिवासी, जाति, जनजाति, पहाडी, मधेशी, थारुहरु भने यो दिनलाई ‘ऐतिहासिक अन्याय दिवस’ करार गरेर विभिन्न अभियानमा जुटेको पनि देखिरहेका छौं । यसरी हरेक वर्ष यो दिन नेपाली जनता स्पष्ट रुपमा दुई विपरीत ध्रुवमा विभाजित रहेको यथार्थ देख्न सक्छौं ।

पृथ्वीनारायण शाहको जन्मदिन अर्थात् २७ पुस देशभर बिदा दिएर नेपालको राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आइरहेकोमा सन् २००६ को राजनीतिक परिवर्तनपश्चात् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वमा पुनर्स्थापित संसद्ले यो परम्पराको अन्त्य गरेको थियो । नेपालका थिचिएका, मिचिएका विविधि जातिका बहुसंख्यक जनताले यस कदमको सहर्ष स्वागत गरे भने शासक वर्गका एक थरी नेपाली भने यस निर्णयले दुःखित बनेका थिए ।

 

हरेक वर्ष २७ पुस वरपरसम्म आइपुग्दा भने यो दुःखित समूह धेरै उत्साहित भएर शाहको जन्मदिन मनाउन उत्साहका साथ उफ्री हिँड्ने गरेको र यस दिनलाई पुनः राष्ट्रिय एकता दिवसको मान्यता दिलाउन जोड जुलुमले लागि पर्ने गरेका छन् । महेन्द्रमालाको ज्ञानले दीक्षित पत्रकार विजयकुमार पाण्डेदेखि हिन्दू धर्म र राजतन्त्रका हिमायती नेता रवीन्द्र मिश्रहरुसम्म पनि गत वर्षको पुस २७ को वरपर टेलिभिजन च्यानलहरुदेखि बाटो चौबाटोसम्म पृथ्वीनारायण शाहलाई महान्, राष्ट्रिय एकताका प्रतीक भन्दै उनको जन्मदिन राष्ट्रिय पर्वकै रुपमा मानेर राज्यभर बिदा नै दिएर ‘राष्ट्रिय एकता दिवस’ धुमधाम मनाउने वकालत गरी हिँडेको पनि हामीले देख्यौं । यसपटक त प्रचण्ड नेतृत्वको सरकारले उनीहरुका मागको सम्बोधन गर्दै बिदा नै दिएको छ र आफ्नो कुर्सी सुरक्षित गरेको छ ।

गणतन्त्र नेपालमा समेत उपप्रधानमन्त्री बन्न सफल कमल थापा प्रवृतितका राजावादीहरू शाहको जन्मदिन तथा यो दिनलाई राष्ट्रिय एकता दिवसकै रुपमा मनाउन पर्छ भन्दै उँच्चो स्वरले चिच्याइहिँड्नु स्वाभाविकै पनि हो तर आफूलाई मार्क्सवादी, लेनिनवादी र माओवादी भनेर फलाकेर हिँड्ने नेपालका स्वनामधन्य कम्युनिष्टहरु समेत विस्तारवादी शाहको गुण बखानमा लागि परेको देखापर्नु भने आश्चर्य हो । हुन त यसलाई नेपालका शासकवर्गका असहिष्णु आर्य खस बाहुनहरु जसले आफूलाई शाहका उत्तराधिकारी थानेर मधेशी, जनजाति, दलित र महिलालाई अन्तरिम संविधानले दिइसकेको अधिकार समेत खोसेर एउटा नयां संविधान थोपर्ने हर्कत गरे उनीहरुको चरित्रसँग भने यो काम मेल खाएकै भन्न सकिन्छ ।

वास्तवमा गोरखा राज्य विस्तारको नाममा पृथ्वीनारायण शाहको लूटमारबाट फाइदा लिएका वा अझै फाइदा उठाइरहेकाहरुले अझै पनि उनको गुणगान गाइरहेका छन् भने जो गोरखा राज्य विस्तारको प्रक्रियाबाट प्रताडित भएका थिए वा अझै प्रताडित भइरहेका छन्, उनीहरुले भने शाहको आलोचना गर्ने गरेका छन् । यस्तै, कयौं इतिहासकारले शाहको क्रूरतालाई नदेखेझैं गरी उनलाई आदर्शको प्रतीक सावित गर्ने प्रयास गरिरहेका छन् भने उनको राज्य विस्तार र शासनकालमा भएका अनगिन्ती क्रूरता र निर्दयी व्यवहारका घटना उजागर गर्ने पनि यहाँ त्यतिकै रहेका छन् ।

नेपाल गणतन्त्रात्मक राज्य घोषणा भइसकेपछि पनि लामो समय अघिदेखि शासकवर्गका खसआर्य केही बाहुन कम्युनिस्टहरुचाहिँ पृथ्वीनारायण शाहका पुजारी नै बनेका छन् । उनीहरुमध्ये पूर्व प्रधानमन्त्री केपी ओली र उनका उपप्रधानमन्त्री सिपी मैनाली तथा लेखक मोदनाथ प्रश्रितहरुले गोरखाली राजा शाहलाई आधुनिक नेपालको एकीकरणकर्ताको रुपमा स्थापित गर्ने यत्नमा हरदम लागि परेको देखिन्छ भने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसम्म पनि शाहलाई आफ्ना आदर्श पुरुषको रुपमा उच्च सम्मान गर्ने कोटीमा हामी देख्छौं ।

अर्काका राज्य जवर्जस्ति हडपने र जितपछि पनि ती राज्यहरुबाट धन संपति लुटपात मचाउने कामलाई राजा महेन्द्रको पंचायतकालमा लेखिएको इतिहासले एकीकरणको नाम दिन खोजेको हो । महेन्द्र राजा हुँदा सन् १९६० को दशकमा इतिहासको रुपमा स्थापित गरिएका धेरैजसो महिमागानमा शाहलाई नेपालको एकीकरणकर्ताका रुपमा देवत्वकरण गर्ने र महान बनाउने भरपूर प्रयास गरिएको थियो । शाहको विजय अभियानको क्रममा भौगोलिक विस्तार भएको र संयोगवश अहिलेको आधुनिक नेपालको खाका कोरिएको हो भन्न त सकिएला । तर यसको अर्थ, यसै क्रममा उनीबाट भए, गरेका सबै क्रूरताबाट उनलाई उन्मुक्ति दिन मिल्छ भनेर कदापि भन्न मिल्दैन ।

त्यसो त करिब छ सय राज्यमा विभाजित भारतलाई पनि बेलायती उपनिवेशवादी शासकहरुले एकीकृत भारतको रुपमा निर्माण गरेका थिए । यसको मतलब के बेलायती उपनिवेशवादी शासकहरुले भारतलाई आधुनिक एकीकृत राजनीतिक संरचना दिए भनेर बेलायती उपनिवेशको ज्यादती र लूटमारलाई भारतीयहरुले क्षमा दिन सकेका छन् र ? बेलायती उपनिवेशवादी शासकहरुलाई भारतका एकीकरणकर्ता मान्नु त परैको कुरा भयो, आफूमाथि औपनिवेशिक शासन थोपरिएको अतितका कारण आज पर्यन्त बेलायती औपनिवेशिक शासकहरुलाई भारतीयहरु घृणा नै गर्ने गर्छन् र भण्डाफोर नै गर्ने गर्छन् भन्ने प्रस्ट छ । त्यस्तै जर्मन जनताहरु हिटलरको विस्तारवादी महत्वाकांक्षाका लागि उनलाई सम्झन समेत चाहँदैनन् न त इटालियनहरु मुसोलिनोको विस्तारवादी विगतमा गर्व गर्ने गर्छन । भारतीयहरुका लागि त बेलायतीहरु विदेशी शासक थिए, तर हिटलर त स्वयम जर्मन शासक नै थिए भने इटालियनहरुको लागि पनि मुसोलिनो आफ्नै शासक थिए ।

नेपालका सम्पूर्ण आदिवासी, मूलवासी, जाति, जनजाति, मधेसी जनतालाई हाल नेपालको शासन सत्तामा हालिमुहाली चलाइरहेका एकल जातीय एकल नश्लीय हर्कतले अझै आक्रोशित बनाइदिएको छ !

गोरखाली राजा पृथ्वीनारायण शाहले विस्तारवादी महत्वाकांक्षाले नेपाल अधिराज्यबाट अलग अलग अस्तित्वमा रहेका ससाना राज्यहरुलाई युद्धमा परास्त गरेर राज्यको विस्तार गरेका थिए । वास्तवमा शाह र उनका उत्तराधिकारीहरुको मुख्य उद्देश्य गोरखा साम्राज्यको विस्तारमा मात्रै थियो । त्यसैको फलस्वरुप बढेको नेपालको भूभागलाई उनीहरुले पवित्र ध्येयले गरेको एकीकरणको परिणामका रुपमा व्याख्या गर्नु सर्वथा गलत हो । किनभने, अहिले प्रचार गरिएझैं, एकीकृत नेपाल निर्माण गर्ने राजनीतिक प्रेरणा र नैतिक दृष्टिकोण उनीहरुमा छँदै थिएन । उनीहरुले त गोरखा साम्राज्य विस्तार गर्ने महत्वाकांक्षाका साथ युद्ध, छल र बलले नेपाललगायत ससाना राज्यहरु हड्पेका मात्र थिए ।

राणा शासनकालको (सन् १८४६-१९५१) अन्त्यतिरसम्म पनि नेपाल देशलाई गोरखा राज्यकै रुपमा सम्बोधन गर्ने गरेको हुलाक टिकट, अनेक सरकारी सनद, कागजातहरु प्रमाणकोरुपमा प्रशस्तै हामी पाउँछौं । गोर्खाले नेपाल जिते पनि छरछिमेक र अन्तर्राष्ट्रिय समुदायले गोर्खा नामलाई खासै मान्यता नदिइ नेपाल देश भन्न नछोडेकोले पनि बाध्य भएर विसं २००७ साल वरपर आइ पुगेर मात्र देशको नाम नेपाल कायम हुन गएको हो । ‘नाउं तेरो गाउं मेरो’ भन्ने उखान चरिचार्थ हुने गरी नेपाः/नेपाल देसका मूलवासी नेवाः जनता गोरखाली औपनिवेसिक शासनको बुटमुनी कुल्चिएर आफ्नो पुर्ख्यौली घरखेत, जग्गा, जमिन गुमाउनेदेखि आफ्नो मातृभाषा समेत त्याग्न बाध्य भएको हालको छ ।

विभिन्न भाषा बोल्ने नेपालीहरुमाथि जहानियाँ राणा शासनले साम्राज्यवादी महात्वाकांक्षा लादन आफ्नो मातृभाषा – गोरखाली भाषा अथवा खस अथवा पर्वते भाषा जबर्जस्ती लादेका थिए । यही क्रममा नेपालभाषा र नेपाली भाषाका नामले परिचित यहाँका रैथाने नेवार जनताका मातृभाषालाई नै होच्याएर ‘नेवारी’ नामकरण गरी गोरखाली भाषालाई नै ‘नेपाली’ नामकरण गरी उच्च नाम र स्थान दिन थालेका हुन । जबकि नेवार जनताका बोली – नेपालभाषा, नेपाल संवत्‌लगायत नेपाल भूभागमा बसोवास गर्ने नेवारहरुसँग सम्वन्धित सबै नेपाः, नेपाल र नेपालीको रुपमा परिचित रहेको कुरा सबैलाई थाहा भएकै तथ्य हो ।

आज धेरैलाई थाहा नहुन सक्छ तर राणा शासनकालमै सन् १९२४ बाट राष्ट्रगानको रुपमा बजाउन थालेका चक्रपाणि चालिसे (१८८४-१९५९) लिखित र भारतीय संगीतकार भक्तवीर बुढापिर्थी (१८५७-१९२०) द्वारा संगीतबद्ध ‘श्रीमान् गम्भीर गोरखाली‘ नामक गोर्खाली राजा श्री ५ महाराजाधिराजको सलामी गान राष्ट्रगान नेपाल र नेपालीको होइन बरु गोरखा र गोरखालीको गुणगान मात्रै गाइएको गीत हो । यस पूर्वराष्ट्रगानमा गोरखाली शासकका रुपमा रहेका शाह राजाहरुको गुणगान गाइनुका साथै गोरखाली वीरहरुको बहादुरी चित्रण गरिएको थियो । सन् १९६७ अर्थात २०२४ सालमा मात्र तत्कालीन यो राष्ट्रगानमा ‘श्रीमान् गम्भीर गोरखाली‘ को ठाउँमा ‘श्रीमान् गम्भीर नेपाली‘ बनाइएको थियो र ‘हामी गोरखाली भाइ साराले‘ शब्दलाई ‘हामी नेपाली साराले‘ शब्दमा फेरिएको थियो । पूर्व राष्ट्रगानको दोस्रो परिच्छेदमा एक हरफ यस्तो पनि थियो—

राखौं कमानभारी वीरताले,

नेपालमाथी सधैं नाथको,

श्री होस् ठूलो हामी गोरखालीको ।

यो हरफले नेपालमाथि गोरखालीको प्रभुत्व र हैकम वीरताले राख्ने अहंकार प्रस्ट बोलेको छ । यस गीतबाट दोस्रो परिच्छेद पुरै हटाएर गाउने गरिएको थियोः

श्री ५ महाराजाधिराजको सलामी

श्रीमान् गम्भीर गोर्खाली प्रचण्डप्रतापी भूपति,

श्री-पाँच् सर्कार, महाराजाधिराजको सदा रहोस् उन्नति;

राखून् चिरायु ईशले, प्रजा फैलीयोस्, पुकारौं जय प्रेमले,

हामी गोर्खाली भाई साराले.

बैरी सारा हराऊन्, शान्त होऊन् सबै बिघ्नब्यथा,

गाऊन् सारा दुनीञाले सहर्ष नाथको सुकीर्ति-कथा;

राखौं कमान, भारी-वीरताले, नेपालमाथी सधैं नाथको

श्री होस् ठूलो हामी गोर्खालीको.

(पर्सिभल लान्दन, नेपाल भाग १, सन् १९२८ लन्दनबाट प्रकाशित, पेज २४१)

अझै पनि नेपाल सरकारको मुखपत्रको रुपमा प्रकाशन भइरहेको पत्रिका र संस्थानको नाम गोरखासँग जोडिएको छ, नेपालसँग होइन । गोरखापत्र संस्थानबाट अहिले पनि ‘नेपालपत्र‘ होइन, ‘गोरखापत्र‘ नै प्रकाशित हुन्छ, जुन गोरखाली विरासतकै निरन्तरता हो । राणाकालमा स्थापित गोरखा भाषा प्रकाशिनी समितिलाई जुद्ध शमशेरको पालामा मात्रै नेपाली भाषा प्रकाशिनी समितिको रुपमा न्वारान गरिएको थियो भने त्यही नेपाली भाषा प्रकाशिनी समितिक हाल साझा प्रकाशनमा परिणत गरिएको हो ।

चन्द्रागिरीमा पृथ्वीनारायण शाहको शालिक ठड्याएर उद्घाटन गर्न पुग्ने गणतन्त्र नेपालका राष्ट्रपति विद्या भण्डारीसँग राजावादी राप्रपाका नेता कमल थापादेखि कांग्रेसी एवं एमाले र माओवादी कम्युनिस्ट नेताहरुसम्म पनि एकै लहरमा उभिन पुग्नुले यिनीहरुको दिमागी दिवालियापनलाई उजगार गरेको छ ।

त्यस्तै, पृथ्वीनारायण शाहकै ‘दिव्य उपदेश’लाई पत्याउने हो भने पनि उनको चाहना ‘असिल् हिन्दुस्थाना’ (शुद्ध हिन्दुस्थान) बनाउने थियो, ‘असली नेपाल‘ होइन । उनका संतान दरसंतानहरुले पछिसम्म पनि गोर्खा शब्द मै गौरव गरी हिँड्ने गरेको यथार्थ लुकाएर लुकिने, छिपाएर छिपिने कुरा पनि होइन ।

एकीकरण भनेको दुई वा बढी पक्षबीचमा आपसी सहमतिबाट हुने एकता हो । शाहले “एकीकरण” शब्दको ए पनि कतै उच्चारण गरेको पाइँदैन । तथ्य इतिहास छोपेर आँखा चिम्लेर गोयबल्स शैलीमा उनले नेपालको “एकीकरण” गरे भनेर घांटी फाट्ने गरी चिच्याइहिंडे पनि प्रामाणिक इतिहासले सावित गर्ने कुनै आधार भने कतै छैन पनि । शाहको उद्देश्य भनेको नेपालमाथि प्रभुत्व जमाउने र गोर्खा राज्य विस्तार बाहेक केही थिएन । युद्धमा अर्काको भूमि जोर जबर्जस्ती कब्जा गरेका शाहका कृत्यलाई एकीकरण भनेर परिभाषित गर्ने हो भने बेलायती शासकहरु तथा हिटलरले त झन् विश्वकै एकीकरण गर्न खोजेको मान्नुपर्ने हुन जान्छ ।

संसारमा कतै पनि अर्काको राज्य लुट्ने, औपनिवेशिक शासन थोपर्ने, आततयायी शासकहरुलाई पुज्ने गर्दैनन । अंग्रेजहरुले विश्वभर आफ्नो औपनिवेसिक शासन विस्तार गरेका थिए तर उनीहरु सबैतिरबाट लखेटीय र आजसम्म उपनिवेशवादीको रुपमा अंग्रेजहरु बदनाम र घृणित छन । औपनिवेशिक शासन विस्तार गरेर आफ्ना देश ठूलो बनाउने खोज्ने जर्मनका विसमार्क, रसियाका जार, नाजी सरदार हिटलर होस या इटालीका फासिस्ट तानाशाह मुसोलिनो कसैलाई पनि महान मानिन्दैन र आफ्नै देशमा पनि उनीहरु घृणाको पात्र बनेका छन् ।

ब्ल्याक लाइभ्ज म्याटर्स [कालाहरुका जीवन महत्वपूर्ण छ] भन्ने आन्दोलन शुरु भएयताका वर्षहरुमा अमेरिकादेखि बेलायत र अन्य युरोपेली देशसँगै विश्वभर नै नश्लवादी रंगभेदवादी तानाशाहहरु र अर्काको देश हडप्ने औपनिवेशिक शासकहरुका सालिकहरुसमेत सार्वजनिक स्थलहरुबाट हटाउने र फुटाउने कार्य तीब्र रुपमा चलिरहेको छ । उपनिवेशवादीहरु देशका शासकहरु आफ्ना पूर्वकृत्यप्रति पश्चाताप गर्दै पहिले उपनिवेश लादेका देशहरुमा पुगेर माफी माग्ने काम र क्षतिपूर्ति दिने काम समेत पनि भइरहेको छ ।

विडम्वना, नेपालमा शाहवंशको निरंकुश राजतन्त्र समाप्त भइसकेर पनि आज सत्तासीन एकल जातीय, एकल नश्लीय, खस–आर्य बाहुन क्षेत्रीको एक जमात सम्भ्रान्तहरू भने आफूलाई पृथ्वीनारायण शाहकै उत्तराधिकारी ठानेर उनलाई नै एकीकरणकर्ता र एकताको सूत्रधार भन्दै पुज्ने र ठाउँ, कुठाउँ उनका नयाँ सालिक ठड्याउनसमेत उद्यत देखिएका छन् । चन्द्रागिरीमा पृथ्वीनारायण शाहको शालिक ठड्याएर उद्घाटन गर्न पुग्ने गणतन्त्र नेपालका राष्ट्रपति विद्या भण्डारीसँग राजावादी राप्रपाका नेता कमल थापादेखि कांग्रेसी एवं एमाले र माओवादी कम्युनिस्ट नेताहरुसम्म पनि एकै लहरमा उभिन पुग्नुले यिनीहरुको दिमागी दिवालियापनलाई उजगार गरेको छ ।

उनीहरुभन्दा अघि बढेर हालमा सैनिक मुख्यालयपिच्छे शाहको सालिक ठड्याउँदै हिँडेको र सार्वजनिक ठाउँमा शाह मात्र होइन उनका सैनिक जनरलको समेत सालिक ठड्याउँदै हिडेको देखिन्छ । हालै आएर पृथ्वी जयन्तीको दिन गोर्खाबाट पृथ्वीनारायण शाह युद्ध गर्न हिंडेको बाटो भनी नेपाली सैनिकलाई परेड हिँड्न लगाएको समेत पनि देखियो । यस्ता कार्यले अहिलेका खस-आर्य शासकहरुले आफूलाई शाहका उत्तराधिकारी सम्झेर उनीबाट पराजित राज्यका जनताहरुलाई ‘हामी विजित जाति हौं तिमीहरू पराजित हौ’ भनी चेताउँदै हिंडेको र उनीहरुको घाउ, चोटमा फेरि पनि नुन खुर्सानी छर्कने कार्य नै भइरहेको हो भन्न सकिन्छ । यस्ता अविवेकी कार्यले नेपाली समाजलाई अझ बढी विभाजित र ध्रुवीकृत गर्ने स्पष्ट छ ।

पृथ्वीनारायण शाहका दरसन्तान पूर्व राजा ज्ञानेद्रदेखि पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्ने र आफूलाई पृथ्वीनारायण शाहका उत्तराधिकारी ठान्ने राजावादी, कांग्रेस र कम्युनिष्ट नेताहरुदेखि नश्लीय सचेत खस-आर्य कांग्रेस र कम्युनिष्टका नेताहरुसम्म एकै लहरमा देखिनुलाई बहुराष्ट्रिय, बहुजातीय, बहुभाषीय, बहुधार्मिक देश नेपालको लागि शुभ संकेत भने पटक्कै मान्न सकिन्न । पृथ्वीनारायण शाहका कामकारबाहीलाई आदर्श मानेर बहुराष्ट्रिय, बहुजातीय, बहुभाषीय, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा लादिएको एकल भाषा एकल भेष, एकल जाति, एकल राष्ट्र, अनि एकल धर्म र एकल नश्लीय संस्कृतिको मिचाइमा पिल्सिएका कुनै पनि नेपाली जाति, जनजाति, मधेशी जनता उनलाई न राष्ट्रिय एकताका प्रतीक नै मान्न तयार छन् नत उनको जन्मदिनलाई एकताका दिवस मान्न नै तयार छन् ।

शाहका राज्य विस्तारका कारण हालसम्म पनि प्रताडना भोगिरहन बाध्य नेपालका सम्पूर्ण आदिवासी, मूलवासी, जाति, जनजाति, मधेसी जनतालाई हाल नेपालको शासन सत्तामा हालिमुहाली चलाइरहेका एकल जातीय एकल नश्लीय हर्कतले अझै आक्रोशित बनाइदिएको छ ! शाहवंशीय राजतन्त्रलाई इतिहासको रछ्यानमा फालिसकेका नेपालीहरुले यी नव बादशाहहरुको दमनकारी शासनलाई लामो समय सहेर भने पक्कै बस्ने छैनन् भन्ने बुझ्दा नै सबैको भलो हुनेछ ।

( डा. बालगोपाल श्रेष्ठ अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध मानवशास्त्री हुन् ।)

Leave a Reply