‘समृद्ध अन्नपूर्ण निर्माणको आधार : दिगो, कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारासहित शनिवार अन्नपूर्ण गाउँपालिकाको १८औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न अधिवेशनले थप तीन करोड ८१ लाख रुपैयाँको बजेट संशोधनसहित विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँसभाको १८औं अधिवेशनबाट विभिन्न ७५ वटा योजनाहरुमा सो बजेट विनियोजन गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । यसअघि गएको असार महिनाको गाउँसभाले पारित गरेको ५३ करोड ५४ लाख ४३ हजार छ सय रुपैयाँको बजेटमा गत वर्षको बाँकी अल्या तीन करोड ८१ लाख थपेर चालु आवमा कुल ५७ करोड ३५ लाख ४३ हजार छ सय रुपैयाँ पु¥याइएको छ ।

शनिवारको अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गरेको संशोधनसहित बजेट गाउँसभाले पारित गरेको छ । उक्त बजेटमध्ये ८३ लाख बजेटबाट विभिन्न ३० वटा योजनाहरुको नाम संशोधन भएको छ भने थप गरी विनियोजन भएको बजेटबाट अन्नपूर्ण हिमालको आधारशिविरको भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरेर आवश्यक पूर्वाधार निर्माणमा ५० लाख छुट्याइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

यसैगरी विनियोजित बजेटबाट गाउँपालिकाको प्रशासकीय भवनको लागि जग्गा खरिद गर्न २० लाख, पर्यटकीय क्षेत्र खोप्रामा पदमार्ग निर्माणमा १६ लाख, कृषि एम्बुलेन्स खरिद, फोहोरमैला सङ्कलन केन्द्र र राम्चेको वडा कार्यालय निर्माणको लागि १५÷१५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ ।

त्यस्तै कोसेली घर व्यवस्थापन सङ्कलन तथा बिक्री केन्द्रलाई पाँचलाख र सुरक्षित मातृत्व आकस्मिक कोषमा दुईलाख रुपैयाँ विनियोजन भएको छ । गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतप्रसाद सुवेदीले चालु आवको पहिलो छ महिनाको अवधिमा अर्धवार्षिक समीक्षासहित पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

असारमा पारित भएको बजेटमध्ये हालसम्म कुल बजेटको नौ करोड ६८ लाख ७० हजार नौसय ४५ रुपैयाँ अर्थात् १८ दशमलव ०९ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १७ करोड १९ लाख ९४ हजारमध्ये एक करोड पाँचलाख ७७ हजार छ सय ९२ अर्थात् पाँच दशमलव ८८ प्रतिशत बजेट खर्च भएको छ । हालसम्म एक करोड ४० लाख ६१ हजार छ सय १० रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

गाउँसभाको अधिवेशनमा लेखा समिति संयोजक पुष्पा बानियाँ बरुवालले बेरुजु फस्र्यौटसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । उक्त सभामा गाउँपालिका अध्यक्ष पुनले विभिन्न ९ वटा प्रस्तावहरु पेश गर्नुभएको थियो भने सहभागी सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply