म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि उल्लासमय रुपमा माघेसङ्क्रान्ति मेला सुरु भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित सुरु भएको मेलामा विभिन्न जातजाति, संघसंस्था लगायतको सहभागितामा बेनीबजार परिक्रममा गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजनामा ४ दिनसम्म सञ्चालन हुने मेलालाई धार्मिक देखि सामाजिक संघसंस्थाको साथ र सहयोगले बजार परिक्रममा भब्य र सभ्य देखिएको छ ।

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई निरन्तरतासँगै माघी पर्वको महत्व झल्किने गरी जिल्लाका सबै स्थानीय तहको कला, संस्कृति र भेषभूषाको प्रदर्शनी गरिएको छ । मेलाको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मेलामा स्थानीय उत्पादन कृषि उपजहरु बिक्री तथा प्रदर्शन गरिनुका साथै अर्ग्यानिक उत्पादनका स्टलहरु राखिएको महिला उद्यम विकास समिति म्याग्दीका सभापति अम्बिका श्रेष्ठले बताइन् । यसैगरी मेलामा स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य, परम्परागत खानाको परिकार तथा माघेसङ्क्रान्तिको महत्वलाई प्राथमिकता  दिइएको महासचिव प्रमिला जोशी श्रेष्ठको भनाई छ ।

माघेसङ्क्रान्ति मेलामा स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुलाई राखिएको छ ।

मेला सम्पन्न गर्नको लागि १० लाख ८० हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

मेलाको स्थलभित्र स्थानीय कृषि उपजहरुको प्रदर्शनी गरिनेछ भने म्याग्दीको कला, संस्कृति र लुकेर रहेका प्रतिभाहरुको पनि प्रस्फुटन गरिनेछ । गतवर्ष म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला लगाइएको थियो । जिल्लास्तरमा हुने महोत्सव तथा मेलाले जिल्लाको पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply