म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि उल्लासमय रुपमा माघेसङ्क्रान्ति मेला सुरु भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित सुरु भएको मेलाको उद्घाटन पूर्व जिल्लाका विभिन्न जातजाति तथा संघ संस्थाका झाँकीले बेनी बजार परिक्रमा गरिएको थियो ।

मेलाको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी जिल्लाका अपुरो विकास निर्माणलाई पूर्णता दिन निरन्तर ताकेता गरिरहेको बताए ।‘अलपत्र योजनालाई पूर्णता दिनेछौ,‘नयाँ योजना थपिने क्रम जारी छ’ प्रतिनिधिसभा सदस्य गर्बुजाले भने ।

उनले बेनी–पाखापानी सडकको बहुबर्षे ठेक्का, मध्यपहाडी लोकमार्गको बैकल्पिक पश्चिम म्याग्दी हुदै जोड्ने सडकलाई २५ करोड बजेट सु्निश्चित भएको बताए। ‘सम्रग म्याग्दी जिल्लाको विकासका लागि बजेट भित्राउन केन्द्रित भएका छौ,‘सबैको साथ र सहयोगबाट मात्रै जिल्लाको विकास सम्भव छ’ सांसद गर्बुजाले भने ।

उनले गठबन्धनबाट विजय भएका सांसदको एकता र सहकार्यबाट भित्रिएका योजनाहरूलाई समयमै सम्पन्न गर्न सबै राजनीतिक दलको साथ आवश्यक रहेको बताए । सोही अवसरमा प्रदेशसभा सांसद हरि भण्डारीले चुनावी बाचाहरू क्रमश पूरा हुने चरणमा रहेको बताए । ‘बजेट मागेपछि पाइने रहेछ, अहिलेको अनुभवले बाँकी कार्यकालमा पनि हामीले बजेटको लहर ल्याउँछौ’ सासद भण्डारीले भने ।

उनले विकास निर्माण सहित खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा बजेट भित्राउने बताए । सोही अवसरमा प्रदेशसभा सदस्य बिमला र्गाचनले महिला उद्यमी सफल भएमात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् ।उनले महिलालाई हरेक क्षेत्रमा नेतृत्वतहमा लैजान सकेमा सम्रग देशको परिवर्तन सम्भव रहेको बताईन् ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बेनपा ७ का वडा अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिकी म्याग्दीकी निर्वतमान अध्यक्ष लक्ष्मी भण्डारीले पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तब्य राखेका थिए ।

मेलामा म्याग्दीका चार विधामा उत्कृष्ट महिलालाई सम्मान समेत गरिएको थियोे । राजनीतितर्फ संविधानसभा सदस्य थममायाँ थापा, सिलाइकटाई तर्फ बेनपा–७ की कमला गिरी,कृषितर्फ बेनपा–२ लभ्लीहिलकी पवित्रा कार्की र कलाकारतर्फ रघुगंगा गाउँपालिका–७ की धनकुमारी थापालाई सम्मान गरिएको थियो ।

मेलाको अध्यक्षता मुल संयोजक अम्बिका श्रेष्ठ, सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठ, सचिब कमला सुबेदी र समापन समितिकी बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले गरेकी थिईन् । आगामी माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न स्थानीय उत्पादनका स्टलहरु समेत राखिएको छ ।

स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य, परम्परागत खानाको परिकार तथा माघेसङ्क्रान्तिको महत्वलाई प्राथमिकता दिइएको छ । स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुलाई निशुल्क ब्यवस्था मिलाइएको छ ।

म्याग्दीको बेनीमा तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेला आयोजना हुँदै आएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले २०५७ सालदेखि जिल्लामा उद्योग वाणिज्य संघको अगुवाइमा माघेसङ्क्रान्ति मेला हुँदै आइरहेकोमा अहिले पनि मेलालाई निरन्तरता दिइएको छ । मेला सम्पन्न गर्नको लागि १० लाख ८० हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लास्तरमा हुने महोत्सव तथा मेलाले जिल्लाको पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply