परम्परागत रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले आजदेखि म्याग्दीको सदरमुकाम बेनीमा कृषि प्रदर्शनी मेला सुरु भएको छ। एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा जिल्लाको ग्रामीण भेगमा उत्पादित स्थानीय कृषि उपज तथा फलफुल प्रजातिका उत्पादनहरु कृषि प्रदर्शनीमा राखिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजनामा दशौं माघेसङ्क्रान्ति मेलाको अवसर पारेर कृषि ज्ञान केन्द्र म्याग्दीको व्यवस्थापनमा कृषि मेला राखिएको हो । कृषि प्रदर्शनी मेलामा ४८ जना कृषकहरुले सहभागिता जनाएका छन् । मेलामा स्थानीय जातको मुला, फर्सी, सिताके च्याउ, सिलाम, लट्टे, निगालोको टुसा र चरेलाको सुकुटी, सिस्नोको धुलो, कुबिन्डो, ढकायोलगायत लेकाली उत्पादनहरु प्रर्दशन गरिएको छ ।
जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण, कृषि उपज तथा फलफुलको प्रदर्शनी र स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित दशौं संस्करणको माघेसङ्क्रान्ति मेला एवं विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।

Leave a Reply